काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा १५ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा १३.१२ प्रतिशतले बढी हो । 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म टेलिकमले १३ अर्ब ६८ करोड खूद नाफा कमाएको थियो । 

यो अवधिमा नेपाल टेलिकमको चुक्तापूँजी १५ अर्ब रहेको छ भने जगेडाकोषमा निकै ठूलो रकम ७८ अर्ब ६ करोड रुपैयाँ जम्मा छ । 

कम्पनीको कुल आम्दानीतर्फ सामान्य बढोत्तरी भएको देखिएको छ । अघिल्लो वर्षसम्म ४४ अर्ब २० करोड आम्दानी गरेको टलिकमले समीक्षा अवधिमा ४४ अर्ब ८३ करोड कमाएको हो । 

कम्पनीको कुल खर्च समेत घटेको छ । अघिल्लो वर्ष २५ अर्ब ९८ करोड कुल खर्च रहेकोमा त्यो घटेर समीक्षा अवधिमा २४ अर्ब ३६ करोडको विन्दूमा झरेको छ । 

समीक्षा अवधिमा टेलिकमले लगानीलाई समेत बढाएको छ । यो अवधिमा उसले ७ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको लगानी ६ अर्ब ६३ करोड थियो । 

यद्यपि टेलिकमको प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १००.११ रुपैयाँ रहेकोमा घटेर यो वर्ष ८८.४७ रुपैयाँ कायम भएको हो । यो अवधिमा टेलिकमको प्रति सेयर नेटवर्थ ६२०.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.७४ गुणा कायम भएको छ । 

टेलिकम विगतदेखि नै निकै ठूलो परिमाणमा नगद लाभांश वितरण गर्दै आएको कम्पनी हो । यो कम्पनीको ८५ प्रतिशत सेयर स्वामित्व सरकारको छ । यो कम्पनी देशकै निकै ठूलो र बित्तीय आधार समेत निकै बलियो भएको कम्पनी समेत हो । टेलिकमको सेयर दोश्रो बजारका लागि हटकेक पनि हो ।