काठमाण्डौ । हाल विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित भई कम्पनी र सरकारको राजश्वमा समेत असर परिरहेको भन्दै नेपाल टेलिकमले सचेत रहन ग्राहकहरुलाई आग्रह गरेको छ ।

नेपाल टेलिकमका मोवाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अबैध मार्गबाट आएको हुनसक्ने टेलिकमको प्रष्टोक्ति छ । यसरी आएको कलको गुणस्तर कमजोर हुनुको साथै राजश्व समेत छलिएको हुने भन्दै सचेत रहन आग्रह गरिएको हो । 

विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने र ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अबैध कलहरु नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा यसतर्फ कम्पनीले थप सक्रियता बढाएको समेत टेलिकमले प्रष्ट्याएको छ ।  

यदि विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिन समेत टेलिकमले अनुरोध गरेको छ । यो नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको बताइएको छ ।