काठमाण्डौ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’को शुभारम्भ गरेको छ । 

शुक्रबार आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको नेपाल टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा शुभारम्भ गरेकोमा खुशी व्यक्त गरे । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको गौरवशाली यात्रामा नमस्ते क्रेडिट सेवा अर्को कोशेढुंगा सावित हुने दाबी गरिन् । उनले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्ने बताइन् ।

यो सेवा अन्तरगत कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने छ । सो रकमपछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन । 

कमसेकम ३ महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ । कति रकम सापटी लिन सकिन्छ भन्ने बारेमा जानकारी लिनका लागि स्टाटस(STATUS) लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी यो सेवा बन्द गर्नका लागि STOP लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि START लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । एकपटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ ।
 
सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिने टेलिकमले प्रष्ट्याएको छ ।