काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्धक निर्देशक बन्न दरखास्त दिएका मध्येबाट तीनजनाको नाम सिफारिस गरिएको छ । 

सिफारिस ती तीन नाममा एक टेलिकमका पूर्व प्रबन्धक निर्देशक बुद्धिप्रसाद आचार्य समेत छन् । उनी बाहेक डिल्ली अधिकारी र संगीता पहाडी अर्यालको नाम समेत सिफारिस समितिले फाइनल गरेको छ । 

सिफारिस भएका अधिकारी र अर्याल समेत टेलिकमसँग आबद्ध व्यक्ति हुन्। 

सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा प्रबन्ध निर्देशकका लागि छनौट समिति गठन गरेको थियो । सोही समितिले बिहीबर साँझ सरकारले आचार्य, अधिकारी र अर्यालको नाम सिफारिस गरेको हो । सिफारिस ३ नाममध्येबाट एकजनालाई आगामी मन्त्रीपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशक बनाउनेछ । 

आचार्य बाहेक अधिकारी र अर्याल टेलिकममै दशौं तहमा कार्यरत व्यवस्थापक हुन् । 

टेलिकम स्रोतका अनुसार अधिकारी प्रबन्ध निर्देशककै कार्यालयमा प्राविधिक सल्लाहकारको रुपमा तथा अर्याल ब्याकबोन डिपार्टमेन्टमा कार्यरत छिन् । 

बुद्धिप्रसाद आचार्य टेलिकमको प्रबन्ध निर्देशकको रुपमा सफल व्यक्ति मानिन्छन् । उनी नेपाली कांग्रेसको सरकार छँदा टेलिकमको प्रबन्ध निर्देशकको रुपमा नियुक्त भई धेरै राम्रा काम गरेका थिए । सुस्ताएको टेलिकमलाई गति दिने कार्यको जश उनलाई समेत जाने गरेको छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । उनको यसअघिको नियुक्तिमा गैरप्राविधिकलाई प्रबन्धक निर्देशक बनाइएको भन्दै विरोध भए पनि उनले आफ्नो कार्यकालमा ती सबैलाई मिलाएर प्रभावकारी नेतृत्व गरेका थिए । 

आचार्यसँगै डिल्लीराम अधिकारीलाई समेत टेलिकमको भावी प्रबन्ध निर्देशकको रुपमा बलियो दाबेदार मानिएको छ । सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग उनको खास निकटता रहेकोले टेलिकमभित्रै पनि उनलाई भावी प्रबन्ध निर्देशकको रुपमा हेर्ने गरिएको छ ।

कतिपयले अर्याल पनि बलियो दाबेदार रहेकी दाबी गर्ने गर्छन् । 

सरकारले टेलिकमको प्रबन्ध निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । यो क्रममा १० जनाले आवेदन दिएका थिए । 

छनौट समितिले तीमध्ये ८ जनाको नाम सर्टलिस्टमा समावेश गरी उनीहरुबाट व्यवसायिक कार्ययोजना मागेको थियो । व्यवसायिक कार्ययोजनासहित अन्तर्वार्तामा आवेदकहरुबाट भएको प्रस्तुतीको आधारमा ३ जनाको नाम सिफारिस गरिएको समितिका एक सदस्यले बताएका छन् ।

सर्टलिस्स्टमा बुद्धिप्रसाद आचार्य, डा. बिमल आचार्य, सनाउल्लाह खान, संगीता पहाडी अर्याल, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्याय परेका थिए । यी ८ मध्ये प्रदीपराज उपाध्यायलाई समेत प्रबन्ध निर्देशकको रुपमा हेरिए पनि उनको राजनीति लाइन नमिल्दा ३ जनामा पर्न नसकेका स्रोत बताउँछ ।