काठमाण्डौ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि माघ २० गते सम्झौता सम्पन्न भएको छ । 
 
संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । 
 
फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्कको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । 
 
यस सम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 
 
नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा र्यान नेटवर्क तयार गरिनेछ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । 
 
र्यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिनेछ । सम्झौता पश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुनेछ ।
        
नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाण्डौ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई  ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनौट गर्ने अवसर प्राप्त हुनेछ । 
 
यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार गर्न सहज हुने बताइएको छ ।