काठमाण्डौ । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ । 

कम्पनीको चाडपर्व अफरअन्तर्गत जिएसएम र सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवा लिंदा विभिन्न अफर उपलब्ध दिइएको टेलिकमले जनाएको छ । 

शुक्रबार विज्ञप्ति प्रकाशित गरी टेलिकमले होलीको अवसरमा रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक लगायतका अफर दिइएको बताएको छ ।  

विज्ञप्तिअनुसार रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत रु. २०० को रिचार्ज कार्डमा २०० एमबी डेटा, रु. ५०० को रिचार्ज कार्डमा ५०० एमबी डेटा र रु. १००० को रिचार्ज कार्डमा १००० एमबी डेटा दुई दिनसम्म बोनस अवधि रहने गरी राति १०ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म उपभोग गर्न पाइनेछ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०३ गतेसम्म ५ दिनका लागि प्रिपेडका ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरेपश्चात् स्वतः प्राप्त हुनेछ।

त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डेटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५०० एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म  उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म १५ दिन जिएसएम प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर लिनका लागि U1GB या U500MB टाइप गरी १४१५मा SMS गर्नुपर्ने छ ।

एसएमएस प्याक अन्तर्गत १०० वटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०१ गतेसम्म ३ दिन जिएसएम तथा सिडिएमएका ग्राहकलाई उपलब्ध हुनेछ । यो सेवा लिनका लागि SMS100 टाइप गरी १४१५मा SMS गर्नुपर्नेछ । सबै अफरका दरहरु करसहितका रहेका बताइएको छ ।