काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिनेछ । यो अफर साउन १६ गते(भोलिदेखि) लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइनेछ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।  

अफरअन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट करसहित मासिक रु. १०००।– मा उपलब्ध हुनेछ । पहिले मासिक १०१७।– मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो । 

त्यसैगरी, भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि रु. १९८०।– शुल्क लिइएकोमा अब १५ जीबी डाटा रु. ३००।– मै उपलब्ध हुनेछ । त्यसैगरी २५ जीबी डाटाको रु. ५००।– र ४० जीबीको डाटाको मूल्य रु. ७००।– मात्र तोकिएको छ । यी डाटाको गति १ एमबीपीएससम्म हुनेछ । 

त्यसैगरी, दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क करबाहेक रु. ५००।– भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि करबाहेक रु. ३००।– र अनलिमिटेड डाटाको लागि रु. २००।– मात्र दर्ता शुल्क  तोकिएको छ । 

यस्तै, अब पहिलेकै मूल्यमा पहिलेभन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेजअन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिनेछ । त्यसैगरी, १०० एमबीपीएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।  

साथै, विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिनेछ । 

जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्कभित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउनसक्ने छन् ।