नयाँदिल्ली । भोडाफोन इण्डिया र आइडिया सेल्युलरबीच मेगा मर्जरको सहमति भएको छ । यो डिलसँगै मर्जरपछि बन्ने कम्पनी भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी बन्ने बताइएको छ । 

रिलायन्स जियोको बजारमा प्रवेशसँगै पछिल्लो समय भारतका दूरसंचार प्रदायक कम्पनीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । यसैकारण भोडाफोन इण्डिया तथा आदित्य बिरला ग्रुपको कम्पनी आइडिया सेल्युलर जस्तो ठूला कम्पनीले मर्जरमा जानुुपरेको भारतीय मिडियाहरुले जनाएका छन् । 

मर्जरको सहमतिलाई दुवै कम्पनीले एकीकरणको योजना भनेका छन् । यो सहमति त्यसबेला मात्र पूरा हुन्छ, जब भारतको केन्द्रीय बैंक आरबीआई, त्यहाँको स्टक एक्सचेञ्जको नियामक निकाय सेबी, डिपार्टमेन्ट अफ टेलिकम र अन्य सम्बद्ध निकायबाट मर्जरको अन्तिम स्वीकृति प्रदान हुनेछ । मर्जरका लागि सबै पक्षबाट सहमति बनेर यी दुुई कम्पनी एक भएपछि उनीहरुसँगको ग्राहक आधार ४० करोड पुुग्नेछ ।

रिपोर्ट अनुसार एकीकरणपछि भोडाफोन इण्डिया लिमीटेडको पूरा विजिनेश तथा भोडाफोन मोवाइल सर्भिसेज लिमीटेड आइडियासँग जोडिनेछ । भोडाफोन इण्डियाको टर्नओभर ५ हजार २५ करोड तथा भिएमएसएलको टर्न ओभर ४० हजार ३ सय ७८ करोड भारु रहेको छ । यस्तै, आइडिया सेलुलरको टर्नओभर ३६ हजार करोड भारु रहेको छ । भोडाफोन इण्डिया लिमीटेडको नेटवर्थ १२ हजार ८ सय ८५ करोड, भिएमएसएलको नेटवर्थ ३ हजार ७ सय ३७ करोड र आइडिया सेलुलरको नेटवर्थ २४ हजार २ सय ९६ करोड भारु रहेको छ । 

सन् २०१६ डिसेम्बरको एक तथ्यांक अनुसार २० करोड ४६ ग्राहक आधारका साथ भोडाफोनको मार्केट सेयर १८.१६ प्रतिशत रहेको छ भने १९ करोड ५ लाख ग्राहक आधारका साथ आइडियाको मार्केट सेयर १६.९ प्रतिशत रहेको छ । हाल भारतमा २६ करोड ३४ लाख ग्राहक आधारसहित एयरटेल भारतकै सबैभन्दा ठूलो दूरसंचार प्रदायक कम्पनी हो । यसको मार्केट सेयर २३.५८ प्रतिशत रहेको छ । 

यी दुुई कम्पनीको मर्जर प्रक्रिया आगामी वर्षसम्म पूरा हुने अनुमान गरिएको छ । 

केही वर्षअघिसम्म भारतमा १३ वटा दूरसंचार प्रदायक कम्पनी अस्तित्वमा थिए । तर सन् २०११ मा त्यहाँको सर्वोच्च अदालतले केही कम्पनीको लाइसेन्स रद्ध गरिदिएको थियो, त्यसपछि भने अवस्था निकै परिवर्तन भएको बताइएको छ । 
त्यसबेला धेरै मोवाइल कम्पनी उपभोक्ताले प्रयोग गर्ने फोन कलको आधारमा पैसा कमाउने सोच्थे, तर अब समय निकै परिवर्तन भइसकेको छ । अधिकांश कम्पनीको ध्यान मोवाइल फोनमा प्रयोग भइरहेको डाटातर्फ मोडिएको छ । 

रिलायन्स जियोले लञ्चपछिको पहिलो ६ महिनामै १० करोड ग्राहक जम्मा गरेर सबैलाई ठूलो चुनौति खडा गरिदिइसकेको छ । तर आइडियालाई जम्मा १९ करोड ग्राहक जम्मा गर्न पूरा १० वर्ष लागेको थियो । जियोले दिएको डाटा अफरलाई टक्कर दिन भारतका सबै दूरसंचार प्रदायक कम्पनीहरुले नयाँ नयाँ अफर र स्कीम ल्याइरहेका छन् । 

बीबीसीले दिएको एक जानकारी अनुसार टेलिकम कम्पनीहरुबीच बढ्दो मर्जरका कारण ठूलो संख्याका कर्मचारीको रोजगारी जानसक्नेछ । भोडाफोनको करिब १३ हजार र आइडियाका पनि करिब १७ हजार कर्मचारी छन् । मर्जरपछि यो संख्यामा ठूलो कटौति हुनसक्ने संभावना मिडिया रिपोर्टहरुमा आँकलन गरिएको छ ।