काठमाण्डौ । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप(सीजी)ले निःशुल्क भ्वाइससहितको फोरजी सेवा भित्र्याउन चीनको हुवावे टेक्नोलोजीसँग १०० मिलियन डलरको सम्झौता गरेको छ । 

नेपालको मोवाइल सेवालाई गुणस्तरीय बनाउन र यो क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यले चौधरी ग्रुपले फोरजी नेटवर्कका लागि मात्रै २५० मिलियन डलर खर्च गर्नेछ । 

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले एक अन्तराष्ट्रिय संचारमाध्यमलाई दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यो समूहले ल्याउने मोवाइल सेवा अन्तर्गत भ्वाइस सेवा निःशुल्क हुनेछ भने कम्पनीले डेटा, अनलाइन पेमेन्ट र अन्य सेवाहरुमा विशेष फोकस गर्नेछ । 

चौधरी फोब्र्सको डलर अर्बपतिको सूचिमा नेपालबाट प्रतिनिधित्व गर्ने एक मात्र डलर अर्बपति हुन् । उनीसँग १.७ बिलियन डलर सम्पत्ति रहेको फोब्र्सको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

यो समूहले नेपालबाहेक भारत, सर्बिया, बंगलादेश लगायतमा वाई वाई नूडल्सको उत्पादन गर्ने गर्छ ।

यो समूहको नेपालमा बैंक, हस्पिटल, टेलिकम्युनिकेसन्स विजिनेश, अटो, हस्पिटालिटी लगायतका क्षेत्रमा ठूलो लगानी रहेको छ । इण्डियाको ताज ग्रुपसँगको सहकार्यमा चौधरी ग्रुपले माल्दिभ्ससहित भारत र नेपालका दर्जनौ रिसोर्टहरुमा लगानी समेत गरेको छ ।

विनोद चौधरीले अन्तर्वार्ताको क्रममा हुवावे टेक्नोलोजीले १०० मिलियन डलर बराबरको फोरजी नेटवर्कका लागि उपकरण सप्लाई गर्नेछ, जसलाई केही पछि फाइभ जीमा अपग्रेड गरिने बताएका छन् । 

हुवावे टेक्नोलोजी विश्वको फाइभजी उपकरण सप्लाई गर्ने अन्य थुप्रै कम्पनीको मुख्य प्रतिस्पर्धी कम्पनी हो । तर, पछिल्लो समय अमेरिकाले हुवावेको प्रविधिलाई रिजेक्ट गर्न विश्वलाई आग्रह गर्दै आएको छ । अमेरिकाले भनेजस्तो हुवावेले भने आफ्नो प्रविधिमा सुरक्षाको कुनै पनि जोखिम नरहेको बताउने गरेको छ । 

चौधरीले सीजी ग्रुपले गुणस्तरीय टेलिकम सेवा दिने उद्देश्यले टर्कीको टर्कसेलको सहायक कम्पनी लाइफसेलसँग सम्झौता गरिसकिएको उल्लेख गर्दै लाइफसेलले आफूहरुलाई प्राविधिक र डिजाइन सर्भिसमा सहयोग गर्ने र हुवावेले भने पूर्वाधारका लागि सहयोग गर्ने प्रष्ट्याएका छन् । 

‘मैले चाइनिज कम्पनीसँग सहकार्य गर्दा कुनै समस्या हुने देख्दिँन ।’ अन्तर्वार्तामा चौधरीले भनेका छन्–‘हामीले चाइनिज कम्पनीहरुसँगकै सहकार्यमा सिमेन्ट उद्योग स्थापनाको तयारी समेत गरिरहेका छौ ।’

सिजीले यसअघिदेखि नै केही टेलिकम्युनिकेसन सर्भिसको लिमीटेड सेवा ग्रामीण भेगहरुमा संचालन गर्दै आएको छ । 

नेपाल दूरसंचार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सीजी समूहले विभिन्न शहरसहितका क्षेत्रमा वृहत सेवा बिस्तारको माग गर्दै आवेदन दिएको जानकारी दिएका छन् । 

‘यदि उहाँहरुले आफूले निर्धारण गरेका मापदण्ड पूरा गर्नुभयो भने वृहत क्षेत्रमा सेवा बिस्तारका लागि लाइसेन्स दिन हामीलाई कुनै आपत्ति छैन ।’ अर्याललाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

हाल नेपालको टेलिकम्युनिकेसन क्षेत्रमा नेपाल टेलिकमको ५१ प्रतिशत मार्केट सेयर रहेको छ । त्यसपछि एनसेल र स्मार्टसेलको उपस्थिति छ । 
चौधरीले ३ देखि ४ वर्षभित्रमा आफ्नो कम्पनीले नेपालको एकतिहाई मार्केटमा कब्जा जमाउने विश्वास समेत व्यक्त गरेका छन् ।