''मैले तीन मिनेट तथ्यसहित विश्लेषण गरेको कुरालाई एकै वाक्यमा झुठ भन्ने ? ओई भारतीय दलाल !’'

आफूले गरेको तर्कलाई अर्कोले खण्डन गरेपछि त्यसलाई तर्ककै साहरामा ठेगान लगाउन सकिन्थ्यो । राजनीतिक विचारधाराबाट निर्देशित व्यक्तिको हकमा त यसको विकल्प नै छैन । तर, उनी विचारको होइन, दम्भ र घमण्डको घोडा चढेर निरन्तर अर्का बक्तामाथि भारतीय दलालको आरोप लगाउँदै जाइ लागिरहे ।  उनको आवेग घटाउन दलाल आरोपित र कार्यक्रम सञ्चालकले निकै यत्न गरिरहे । भारतीय दलालको उपमा पाएका व्यक्तिले संयमित भएर उनी झुठ हुनुको कारण पेश गर्ने समय मागे । तर अहँ, उनी रोकिएनन्; संयमित त फिटिक्कै हँुदै भएनन् । बरु निरन्तर दाह्रा किटिरहे– ‘ओइ भारतीय दलाल !!’

सामान्य व्यक्तिले सार्वजनिकस्थलमा यस्तो हर्कत देखाउँथ्यो भने यो उतिधेरै चर्चाको विषय हुँदैनथ्यो । भुइँ लेबलबाट यस्तो रवैया हुन्थ्यो भने प्रहरी प्रशासनले दुव्र्यवहार गर्नेमाथि दुईचार डन्डा वर्षाएर उहिल्यै तह लगाइसकेको हुन्थ्यो । तर, नैतिकता, संस्कार, संयमता र आदर्शको पाठ सिकाउनु पर्ने नेता नै तल्लो स्तरको गालीगलौजमा, त्यो पनि दुनियाँले हेरिरहेको टेलिभिजन सेटको लाइभ कार्यक्रममा जाइलागे पछि कुरीकुरी गर्नु बाहेक अरु के नै विकल्प बाँकी रहन्छ र !!

प्रसंग: एभिन्यूज टेलिभिजनमा केही दिनअघि प्रसारण भएको एक बहस कार्यक्रमको हो । कार्यक्रमको नाम वाकयुद्ध भए पनि बहसका लागि निम्त्याइएका पाहुना बीच तनाव बढेपछि यो कार्यक्रम झन्डैझन्डै मुक्कायुद्ध बन्न पुगेको थियो । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का नेता तथा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा विश्लेषक डा. सुरेन्द्र केसीमाथि उत्तेजकरुपमा प्रस्तुत भएपछि टेलिभिजनको लाइभ कार्यक्रम तनावपूर्ण बन्न पुगेको हो ।  

भएको के हो ? 
चुनाव प्रचारको शैलीदेखि यसका विविध पाटा–पक्ष र उम्मेदवार छनौटको प्रवृत्तिलाई केलाउन नेमकिपाका प्रेम सुवाल, विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसी र काठमाडौं क्षेत्र नं. ७ का वाम गठबन्धनका साझा उम्मेदवार रामवीर मानन्धरलाई बहसमा निम्त्याइएको थियो । सुरुमा बहस सामान्यरुपमा नै अघि बढेको थियो । तर, जब एमालेबारेको विश्लेषण र वामपन्थी शब्दको उत्पत्तिबारे मतान्तर देखियो, स्थिति एकाएक अर्कैतिर मोडियो । ‘प्रमेजीले ‘वामपन्थी’ शब्द बेलायतबाट आएको भन्नु भयो, यो गलत छ । वामपन्थी शब्द फ्रान्सबाट विकास भएको हो’ केसीले यति भन्न के भ्याएका थिए, सुवाल एकाएक ‘दुर्वासा’ अवतारमा प्रकट भए ।  उनले तत्कालै अधैर्यता देखाउँदै केसीलाई हकारे– ओई भारतीय दलाल π मैले बोलेको कुरालाई गल्ती भन्ने अधिकार कहाँबाट पायौं ? मेरो तर्क काट्ने को हौं ?’

खासमा यो त्यति ठूलो विषय थिएन । तर, झन्डै ४८ मिनेट लामो बहसको १८ मिनेटदेखि सुरु भएको विवाद झन्डै ४ मिनेटसम्म निरन्तर चलेको थियो । कतिसम्म भने सुवालले हातको भाउ लगाएर बोलेको भन्दै केसीलाई हात नहल्लाइ बोल्न चेतावनी नै दिएका थिए । ‘हात हल्लाएर कुरा गर्न मलाई पनि आउँछ,’ निकै उत्तेजित भएका सुवालले झगडिया लय पक्डँदै तीतो पोखे, ‘हात हल्लाएर कुरा गर्न हामीलाई पनि आउँछ । हात नहल्लाइ कुरा गर ।’ वाक युद्ध नामको उक्त कार्यक्रममा यदि केसी संयमित नभएका भए मुड्की युद्ध नै हुने स्थिति बनेको थियो । 

कार्यक्रममा सुवाल उत्तेजक बनेर प्रस्तुत भएपछि केसी निकै रक्षात्मक बनेका थिए । ‘एमालेलाई उहाँले दलाल भन्नु भयो । नाकाबन्दीको समयमा एमालेको सरकारलाई उहाँको पार्टी नेमकिपाले पनि साथ दिएको थियो । अब एमाले दलाल हुँदा नेमकिपा दलाल र गद्दार हुन्छ कि हुँदैन ?’, स्थितिलाई नियन्त्रणमा लिन छाडेर बलेको आयोगमा घ्यू थप्दै सञ्चालकले केसीलाई प्रश्न तेर्साए । तर, केसी ‘उहाँको पार्टीका बारेमा टिप्पणी गर्दा उहाँलाई चित्त दुख्छ । म यो विषयमा बोल्दिनँ’, भन्दै चुप बसेका थिए । केसीले कार्यक्रममा तनाव झेले पनि हेर्नेहरुलाई भने निकै मनोरञ्जन मिलेको थियो ।