काठमाण्डौ । अमेरिकी धनाढ्य एलोन मस्कको कम्पनी टेस्ला इंकले आफ्नो १ कित्ता सेयरलाई ५ कित्तामा विभाजन गर्ने भएको छ।

कम्पनीको बार्ड बैठकले टेस्लाको प्रत्येक सेयरलाई ५ भागमा विभाजन गर्ने प्रस्तावलाई अनुमति प्रदान गरेको हो। सेयर विभाजनपछि टेस्लाको सेयरमूल्य सस्तो हुने र यसमा साना लगानीकर्ताले पनि सजिलै लगानी गर्न सक्ने कम्पनीले जनाएको छ। 

गत महिना एलोन मस्कले ट्विटर प्रयोगकर्तालाई उत्तर दिँदै कम्पनीका सेयरधनीहरुको वार्षिक बैठकमा सेयर टुक्र्याउने चर्चाबारे विचारविमर्श गर्ने बताएका थिए। 

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सेयर विभाजनका लागि २१ अगस्टको रेकर्ड मिति बनाएको थियो। अर्थात २१ अगस्टमा टेस्लाको सेयर भएकाहरुले १ सेयरबापत थप ४  अतिरिक्त सेयर पाउनेछन्। नयाँ सेयर २८ अगस्टमा सेयर बजारमा टे«डिङ बन्द भएपछि दिइनेछ। 

साना लगानीकर्ताको लगानी बढेपछि टेस्लाको मूल्यमा अझै धेरै बढोत्तरी हुनेछ। पछिल्लो १२ महिनामा कम्पनीको मूल्य ५०० प्रतिशतले बढिसकेको छ। यसका कारण टेस्ला विश्वको सबैभन्दा धेरै मूल्यवान गाडी निर्माता कम्पनी बनेको छ। 

अहिले टेस्लाको बजार पुँजीकरण २५६ अर्ब डलर रहेको छ। सेयर बजारमा सूचीकृत भएदेखि अहिलेसम्म यो कम्पनीको सेयरमूल्य ७ हजार प्रतिशतभन्दा धेरै बढिसकेको छ। यो वर्षको मार्च महिनापश्चात कम्पनीको सेयरमा २८० प्रतिशतको उछाल आएको छ। 

अहिले टेस्लाको प्रतिसेयर मूल्य १ हजार ६४३ डलर छ। मार्च महिनामा कम्पनीको सेयर मूल्य ३६१.१२ डलरको न्यूनतम विन्दुमा पुगेको थियो। 

गत मंगलबार बजार बन्द हुँदासम्म टेस्लाको सेयरमूल्यमा ८.४ प्रतिशतको उछाल आएर १ हजार ४९० डलरमा पुगेको थियो। – एजेन्सी