काठमाण्डौ । के तपाइँ कतै जाँदा प्रायः ट्याक्सी चढ्नुहुन्छ ? त्यसो हो भने अब याद राख्नुहोस् सरकारले छिटै ट्याक्सीको वर्गीकरणअनुसार फरक–फरक भाडादर कायम गर्न लागेको छ । यदि सरकारको यो नियम लागू भयो भने तपाइँले ट्याक्सीको वर्गीकरणबमोजिम भाडा तिरेर आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ। 

यातायात व्यवस्था विभागले ट्याक्सी सेवालाई गुणस्तरीय बनाउन तयार पारेको प्रस्तावित नयाँ मापदण्डमा उपत्यकामा गुड्ने ट्याक्सीलाई साधारण, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारमा वर्गीकरण गरेको छ। ट्याक्सी वर्गीकरणसँगै सोहीअनुसार भाडादर कायम गर्ने तयारीमा विभाग लागेको छ । जसले गर्दा सस्तो र महँगो भाडा तिर्न सक्नेहरु आफ्नो हैसियत र रोजाइमा ट्याक्सी प्रयोग गर्न सक्ने विभाग बताउँछ। 
अहिले उपत्यकामा ट्याक्सी भाडादर यात्रु चढ्नेबित्तिकै १४ रुपैयाँ र गुडेपछि प्रतिकिलोमिटर ३७ रुपैयाँ कायम गरिएको छ। 
नयाँ मापदण्डअनुसार ट्याक्सीमा न्यूनतम १२ सय सीसीको क्षमता तोकिएको छ । हाल नेपालमा आठ सय सीसीसम्मको क्षमता भएका ट्याक्सी सञ्चालनमा छन् । विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार ट्याक्सीमा सामान राख्न सहजता र भित्र यात्रु बस्ने थान अलि खुला फराकिलो र एसी अनिवार्य हुनुपर्ने मापदण्ड तयार पारिएको छ । 
विभागले ट्याक्सीमा यात्रा र यात्रुको सुरक्षाका लागि स्मार्ट प्रविधिबाट सुरक्षा फिचर्स जडान गर्नुपर्ने अनिवार्य गरेको छ। 
ट्याक्सी व्यवस्यायीहरुले भने विभागको नयाँ मापदण्डको विरोध गरेका छन् । उनीहरुले मापदण्डको नाममा उपत्यकामा नयाँ ट्याक्सी थप्ने खेल सुरु भएको आरोप लगाएका छन् । केही व्यवसायीले भने नयाँ ट्याक्सी दर्तामा बन्देज लगाउन नहुने तर्क गर्दै आएका छन्। 
विभागका अनुसार हाल उपत्यकामा १० हजार ट्याक्सी दर्ता छन् । 
विभागबाट प्रस्तावित ट्याक्सीको नयाँ मापदण्ड भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पुर्याइएको छ । मन्त्रिपरिषद्बाट नयाँ मापदण्डका विषयमा निर्णय हुन बाँकी छ ।