रुपन्देही । ट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पडषरी रुपन्देहीको दोस्रो साधारण सभाले संस्थाको कार्य क्षेत्रलाइ प्रदेशस्तरीय बनाउने निर्णय गरेको छ ।

प्रदेशभरि छरिएर रहेका ट्रक व्यवसायीको हकहितका लागि सहज रुपमा कर्जा प्रवाह तथा गुणस्तरिय सामान उपलब्ध गराउने लक्ष्यसहित संचालनमा ल्याईएको सहकारीले स्थापनाको दोस्रो वर्षमै लोकप्रियता कमाउन सफल भएको छ ।

सोमवार भएको साधारणसभामा नेपाल ट्रक व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले सहकारीका शेयर सदस्यलाई गुणस्तरिय तथा सहज रुपमा सेवा उपलब्ध गराउन माग गरे ।

नेपाल ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले  सहकारीमा आवद्ध ट्रक व्यवसायीलाई सहज हुने गरी पेट्रोल पम्प, टायर पसल र मोटरपार्टसको व्यवसाय संचालन गरी व्यवसायीलाई फाईदा दिलाउने  गरी काम अगाडि बढाइएको बताए ।

सहकारीका अध्यक्ष खडानन्द अर्यालको सभापतित्वमा भएको कार्यक्रममा ट्रक व्यवसायी महासंघका  प्रदेश ५ का संयोजक यम प्रसाद पाण्डे, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष खगराज गौतम, लुम्बिनी ट्रक व्यवसायी समितिका  अध्यक्ष विष्णु खरेल, ढुवानी व्यवसायी समितिका उपाध्यक्ष राम कृपन लोहनीसहकारीका उपाध्यक्ष बसन्त खडका, सचिव अर्जुन भुसाल, कोषाध्यक्ष दीपक थापाले ट्रक व्यवसायी सहकारीले अगाडी सारेका कामलाई ध्यानमा राखी सदस्यता विस्तार अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।