अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो उत्तराधिकारीमा हिलरी क्लिन्टन निर्वाचित नभए उनको ८ वर्षे कार्यकालमा भएका सबै प्रगति खेर जाने चेतावनी दिएका छन्।

अनिर्णित राज्यका रुपमा परिचित नर्थ क्यारोलाइनामा चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले भावी राष्ट्रपतिमा ट्रम्प चुनिए अमेरिका र सम्पूर्ण विश्वकै लागि खतरा हुने बताए।

अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइले इमेलहरुको अनुसन्धान पुन: सुरु गरेको विषयमा पनि ओबामाले क्लिन्टनको बचाउ गरेका छन्।

फ्लोरिडामा एउटा र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले क्लिन्टनले निर्वाचित भए अमेरिका संवैधानिक संकटमा फस्ने बताएका छन्।

अब चुनाव हुने मिति अघिसम्म बाराक ओबामाले शनिबारबाहेक सबै दिन हिलरी क्लिन्टनको समर्थनमा चुनावी अभियानहरुमा बिताउनेछन्।

डेमोक्र्याट्हरुले जीत हात पार्ने प्रयास गरिरहेको नर्थ क्यारोलाइना राज्यमा सम्बोधन गर्दै उनले रिपब्लिकनहरुको भविष्य त्यहाँका मतदाताहरुले निर्धारण गर्ने बताए।

ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य रहेको उल्लेख गर्दै उनले भने “कयौँ रिपब्लिकनहरुले मनोनयन गर्नुहुँदैन भन्दा भन्दै उनलाई उम्मेदवार बनाइयो, उनी विरुद्ध उभिएका रिपब्लिकनहरुले उनलाई झुठ्ठा र केही पनि नजान्ने अनि राष्ट्रपति हुन अयोग्य भनिरहेका छन्, आफ्नो स्वभावका कारण उनी अमेरिकी सेनाको परमाधिपति हुन अयोग्य छन् र उनीसँग राष्ट्रपति हुन आवश्यक क्षमता छैन।”

राष्ट्रपति उम्मेदवार क्लिन्टनले चाहीँ एरिजोनामा समय दिइरहेकी छन् जहाँबाट दोस्रो विश्वयुद्ध यता दुई जना मात्र डेमोक्र्याटिक पार्टीका नेताले जितेका छन्।

क्लिन्टन एरिजोनालाई आफ्नो पक्षमा पार्न सक्ने अवस्थाको नजिक रहेको बताइन्छ।

रिपब्लिकनतर्फका उम्मेदवार डोनल्ड ट्रम्पले चाँडै मत खसाल्न आफ्ना समर्थकहरुलाई आग्रह गरेका छन्।

अमेरिकाका कतिपय राज्यमा चुनावको दिन अघि नै मतदान गर्न सकिने र मतदाताले चाहेमा आफ्नो मतलाई सच्याउनसक्ने समेत प्रावधान छ।

अहिलेसम्म झण्डै ३ करोड अमेरिकीहरु मतदान केन्द्रमा पुगेका छन् र उनीहरु प्रत्येक पाँच मध्ये एक जनाले मतदान गर्ने ठानिएको छ।

अनिर्णित भनिएका राज्यहरुमा अझै हिलरी क्लिन्टनले साँघुरो अग्रता कायम गरिरहेकी छन् र उनका लागि ह्वाइट हाउसको यात्रा आफ्ना प्रतिद्वन्दीभन्दा सहज देखिन्छ।

-From BBC