वासिङटन। अन्ततः अमेरिकाले मुस्लिम बाहुल्य रहेका विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच महिना अघिदेखि नै सो कानुनको घोषणा गरेका थिए।  तर अमेरिकाका अधिकारवादी र अदालतको विरोधका कारण ती देशका नागरिक र शरणार्थीमाथिको यात्रा प्रतिबन्धको कानुनको कार्यान्वयन हुन सकेको थिएन । 

पहिले राष्ट्रपति ट्रम्पले मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी छ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने गरी कानुन बनाएका थिए।उक्त कानुनको व्यापक मात्रामा विरोध भएको थियो । जसका कारण संघीय अदालतले यात्रामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

तर बिहीबार अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पको सो नीति सदर गरिदिएको छ । यो फैसलामा उक्त कानुन पूर्ण रुपमा प्रतिबन्ध लगाउने गरी नभई आंशिक कार्यान्वयनको लागि फुकुवा गरिएको छ । 

पाँच महिनामा यहाँका अधिकारवादीहरुसँगको सङ्घर्षपछि बिहीबार राति अमेरिकाले अब ती छ देशका नागरिकलाई पूर्ण रुपमा नभई आंशिक रुपमा प्रतिबन्ध लगाउन पाउने भएको छ । पहिले नै प्रवेशाज्ञा भएका नागरिक, अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने पारिवारका वास्तविक आफन्तजन र त्यहाँ व्यापारिक सम्बन्ध भएका नागरिकका हकमा भने यो कानुन लागू हुने छैन ।

यी शर्त राखेर अमेरिकी सर्वोच्च अदालतले यहाँको सरकारले पाँच महिना अघि नै ल्याएको कानुन कार्यान्वयनका लागि अनुमति दिएको छ । अहिलेको लागि ती छ देशका नागरिकलाई ९० दिनको र शरणार्थीहरुलाई भने १२० दिनको प्रतिबन्ध लगाउन पाउने गरी अदालतले सो आदेश दिएको छ। 

यसका आधारमा आगामी दिनमा ती देशमा यात्रा प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने बारेको पनि निर्णय गर्न सजिलो हुने पनि बताइएको छ । त्यसैले अहिलेको लागि यो प्रतिबन्धात्मक कानुनलाई परीक्षणका रुपमा मात्र हेर्नुपर्ने अवस्था रहेको अधिकारीहरुले जनाएका छन् ।    

यस आदेशको पनि अधिकारवादीहरुले बिरोध गरेका छन् । बिहीबार पनि यो कानुन कार्यान्वयनमा आएसँगै जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारवादीहरु उपस्थित भएर अध्यागमनका अधिकारीहरुलाई प्रवेशाज्ञा लिएर आएका नागरिकलाई नफर्काउन आग्रह गरिरहेका थिए । 

उनीहरुले यो कानुनको कार्यान्वयन हुनुभन्दा अघिनै प्रवेशाज्ञा प्राप्त गरेका नागरिकलाई नरोक्न आग्रह गरिरहेका थिए । त्यस्तै प्रतिबन्ध लगाइएका ती देशका अमेरिकामा बसोबास गरिरहेका नागरिकले पनि यस कानुनको विगतदेखि नै विरोध गर्दै आएका छन् ।  

इराकको विरोध
अमेरिकाले छ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकाको भ्रमणमा लगाएको प्रतिबन्ध वास्तवमै निन्दनीय भएको इराकी विदेशमन्त्री मोहमद जाभेद जारिफले बताए।

‘अमेरिकाले हाल इरानी हजुरआमाहरुलाई आफ्ना नातीनातीनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ, यो वास्तवमै निन्दनीय भएकोले यसको इरानले विरोध गर्दछ–जारिफले आफ्नो ट्वीटरमा लेखेका छन्।

अमेरिकामा इरानी मूलका अमेरिकी नागरिक १० लाख भन्दाबढी रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी छ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको छ । अमेरिकी सर्वाेच्च अदालतको पछिल्लो आदेशले आगामी ९० दिनसम्म ती देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिवन्ध लगाउने सरकारको नीतिलाई सदर गरेको छ । 

त्यसैगरी ती छ देशका शरणार्थीलाई १२० दिनसम्म रोक लगाइएको छ । यसबाट अमेरिकामा आतङ्ककारी भित्रिन रोक लाग्ने ट्रम्पको भनाइ रहेको छ । यस निर्णयको अमेरिकामा विरोध भइरहेको छ ।  अमेरिकी इरानीयहरुले आ–आफ्नो ट्वीटरमार्फत आफ्ना हजुरबा आमा आतङ्ककारी नभएको भनी विरोध गरेर ट्वीट गरेका छन् र उनीहरुले ती हजुरबा आमाको फोटो पनि ट्वीटरमा राखेका छन् । 

रासस/एएफपी