वासिङटन (रासस/एपी) । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण सङ्घीय कार्यालयहरु अझै केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको छ । अमेरिकी संसदले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको पाँच अर्ब डलर बाहेकको बजेटमात्र पारित गर्ने जानकारी गराएसँगै राष्ट्रपति ट्रम्पले बजेट स्वीकृत नगर्ने अडान लिनुभएको छ । 

फेरि, सांसदहरु बजेट छलफल बीचमै छाडेर क्रिसमस र नयाँ वर्षको छुट्टी मनाउन वासिङटनबाट अन्यत्र हिँडिसकेका छन् । उनीहरुको भनाईमा मतदानका लागि वासिङटन फर्किन अरु २४ घण्टाको समय दिनु पर्दछ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटको बैठक बिहीबार अपराह्नका लागि बोलाइएको छ, तर बैठकमा थोरै संख्यामा मात्र सिनेटरहरु उपस्थित हुने सम्भावना छ । 

सङ्घीय कर्मचारीहरु पनि सप्ताहान्त र दुईवटा सार्वजनिक बिदापछि बुधबारबाट काममा फर्किएका छन् । तर कतिपय सङ्घीय कार्यालयका कर्मचारीहरु बजेट पारित नहुँदा नराम्रोसँग प्रभावित भएका छन् । 

राष्ट्रपति ट्रम्प आफ्नो मागप्रति अविचलित हुनुहुन्छ । इराक भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई सीमा सुरक्षाका निम्ति जस्तोसुकै कदम चाल्न आफू तत्पर रहेको बताउनुभएको छ । सङ्घीय सरकारी कार्यालयहरु खुलाउन आफूले सीमा पर्खालको बजेटमा पुनर्विचार गर्न लागेको भन्ने कुरामा सत्यता नरहेको पनि उहाँले जानकारी दिनुभयो । 

“पर्खाल बनाउनुको कुनै विकल्प नै छैन, हामी सुरक्षित पनि त हुनुप¥यो नि,” राष्ट्रपतिले भन्नुभयो । 

बजेट अभावमा नौ वटा मन्त्रालय मातहतका विभागहरु र दर्जनौं सङ्घीय निकायहरुका काममा कठिनाई उत्पन्न भएको छ । करिब चार लाख २० हजार कर्मचारीले विना तलब काम गरिरहेका छन् भने अरु तीन लाख ८० हजारलाई बेतलबी विदा दिइएको छ । 

ह्वाइट हाउसले कङ्ग्रेसमा डेमोक्राट पार्टीका नेताहरुसँग वार्ता गरिरहेको छ तर आशावादी हुने सङ्केत अझै मिलेको छैन । 

वार्तामा सहभागी उत्तरी क्यारोलिना राज्यका रिपब्लीकन सांसद एवं राष्ट्रपति ट्रम्पका नजिकका व्यक्ति मार्क मिडोजले सीमा सुरक्षाका मामिलामा राष्ट्रपति ट्रम्प आफ्नो अडानमा यथावत रहनुभएको जानकारी दिनुभयो । 

सरकारी खर्चको विषयमा उत्पन्न विवाद गत साताबाटै शुरु भएको हो । सिनेटमा रिपब्लीकन र डेमोक्राटबीच फेब्रुअरीसम्मका लागि सरकारी खर्चलाई अनुमोदन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतामा एक अर्ब ३० करोड डलर सीमा सुरक्षा परियोजनाका लागि उपलब्ध गराउने उल्लेख थियो तर सीमामा पर्खाल बनाउन बजेट छुट्याइएको थिएन । 

ट्रम्पको आग्रहमा तल्लो सदनले भने ५ अर्ब ७० करोड डलरको बजेट पारित गरेको थियो । 

तर सिनेटबाट उक्त बजेट पारित गर्न रिपब्लीकन सांसदहरु पर्याप्त छैनन् । सिनेटबाट बजेट पारित हुन ६० सदस्य आवश्यक हुन्छ, जबकी सिनेटमा रिपब्लीकनको सदस्य संख्या ५१ मात्र छ । सिनेटमा डेमोक्राटहरुले पर्खाल निर्माणका लागि कुनै पनि परिस्थितिमा बजेट पारित नगर्ने अडान राखेका छन् । 

सिनेट र ह्वाइट हाउसबीच भएको वार्ताले निष्कर्श निकाल्न नपाउँदै सरकारी कार्यालयहरु बन्द भइसकेका छन् । 

सरकारी बजेट अभाव भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । शेयर बजारमा आएको गिरावट अझै रोकिएको छैन ।