अमेरिकाको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा उनको दल डेमोक्र्याटिकको तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्दैछिन्।

३७ वर्षीया तुलसी गबार्डको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो।

२१ वर्षको उमेरमा अमेरिकामा सबभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास उनले रचेकी थिइन्।

भारत र हिन्दूसँग के नाता ?
राज्यका सिनेटर माइक गबार्डकी छोरी तुलसीले आफ्नो पहिलो कार्यकालमा स्वच्छ ऊर्जाको प्रवर्धन गर्दै स्वच्छ तथा सौर्य ऊर्जाका निम्ति आवश्यक उत्पादनलाई कर छुट दिने कानून बनाउने विषयलाई समर्थन गरेकी थिइन्।

त्यसपछि उनी हवाई आर्मी नेशनल गार्ड सर्विसमा सामिल भएर एक वर्षसम्म इराक युद्धमा होमिइन्।

सन् २०१५ मा अमेरिकी सेनाको मेजर पदमा पुगेकी उनको वर्तमान समयमा पनि सेनासँग सम्बन्ध रहेको छ।

उनले अमेरिकी राष्ट्रपति पदमा आफ्नो दाबेदारी पेश गरे लगत्तै भारतमा उनी ट्विटरमा चर्चित बनिन्।

तर वास्तवमा भारतसँग उनको कुनै प्रत्यक्ष नाता छैन।

उनको आमाबुवा पनि भारतीय मूलका होइनन्।

तर हिन्दू धर्मावलम्बी भएका कारण अमेरिकामा रहेका भारतीय समुदायले उनको समर्थन गर्ने गर्छ।

त्यसमाथि तुलसीको नाममा अमेरिकी संसदमा पुग्ने पहिलो हिन्दूको रेकर्ड पनि रहेको छ।

गत वर्ष अमेरिकी न्यूज च्यानलको एउटा कार्यक्रममा हिन्दूहरूको विरोधमा एक टिप्पणी गरिएपछि उनले कडा विरोध जनाएकी थिइन्।

मोदीको समर्थक?
तुलसी गबार्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास समर्थकका रूपमा हेरिन्छ।

सन् २०१४ मा प्रधानमन्त्रीमा चुनिनु अघिदेखि नै गबार्डले मोदीको समर्थन गर्थिन्।

जब अमेरिकी सरकारले सन् २००२ मा गुजरातमा भएका साम्प्रदायिक दङ्गाको कारण तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो तब तुलसी गबार्ड ती थोरै अमेरिकी नेतामध्ये थिइन् जसले सरकारको सो फैसलाको आलोचना गरेका थिए।

हिन्दू धर्म मान्ने तुलसीले आफ्नो भारत यात्राका क्रममा प्रधानमन्त्री मोदीसँग भेटघाट गरेकी थिइन्।

केही वर्ष पहिले हिन्दू रीतिरिवाजका साथ विवाह गरेकी तुलसी गबार्ड भारतीय प्रधानमन्त्री मोदीको अन्तर्राष्ट्रिय योग दिवससम्बन्धी पहलको समर्थक हुन्।

गबार्डको राजनीति कस्तो ?
गबार्डको राजनीतिक झुकावको कुरा गर्दा अमेरिकामा उनको छवि यस्तो नेताको रूपमा छ जसलाई रिपब्लिकन दलका मानिस पनि मन पराउँछन् र जसलाई डेमोक्र्याटिक पार्टीका मानिस नियन्त्रण गर्न सक्दैनन्।

सन् २०१६ मा उनले राष्ट्रपतिको चुनावताका डेमोक्र्याटिक पार्टीका तर्फबाट हिलरी क्लिन्टनको साटो बर्नी सेण्डर्सको उम्मेदवारीको समर्थन गरेकी थिइन्।

त्यतिखेर उनले सोही कारण डेमोक्र्याटिक नेशनल कमिटिको उपाध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्।

अमेरिकामा अर्को राष्ट्रपतिय निर्वाचन सन् २०२० मा हुनेछ।

सामान्यतया पहिलो कार्यकाल चलाइसकेका राष्ट्रपति नै उनको दलको तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने प्रचलन छ।

यसर्थ यदि तुलसीको दाबेदारी डेमोक्र्याटिक पार्टीभित्र स्वीकृत भए उनले उक्त निर्वाचनमा ट्रम्पको सामना गर्नु पर्ने हुनसक्छ।

-बीबीसीबाट साभार