काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन्।

नर्वेको एन्टी इमिग्रेसन पार्टीका एक दक्षिणपन्थी सांसदले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका हुन्। प्रोग्रस पार्टीका सांसद क्रिस्टियन गेजेडेले फक्स न्युजलाई अन्तर्वार्ता दिँदै इजरायल र संयुक्त अरब इमिरेट्सबीचको शान्ति सम्झौताका लागि अमेरिकाले खेलेको भूमिकाका लागि ट्रम्पको नाम अगाडि सारेको बताए। गेजेडेले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेको यो दोस्रोपटक हो। 

नर्वेली नोबेल कमिटीले प्रत्येक वर्ष सांसद, सरकारका सदस्यहरु र शिक्षाविद्हरुबाट पुरस्कारका लागि सयौँ मनोनयन प्राप्त गर्ने गर्दछ। यसअघि रुसी राष्ट्रपति भलादिमिर पुटिन पनि यो पुरस्कारका लागि मनोनित भएका थिए। 

नोबेल पुरस्कारको दौडका लागि यो वर्ष ३१८ जना उम्मेद्वारहरु मैदानमा छन्। जसमध्ये दुई तिहाइ व्यक्तिगत र बाँकी संस्थाहरु छन्। 
यो वर्षको नोबेल पुरस्कार आगामी अक्टोबर ९ मा प्रदान गरिनेछ। –एजेन्सी