काठमाण्डौ । डोनाल्ड ट्रम्प प्रशासनले ‘एच वान बी’ भिजाको प्रिमियम प्रोसेसिङ आगामी अप्रील ३ बाट रोक्ने घोषणा गरेको छ । यो घोषणासँग आइटी प्रोफेसनलको रुपमा अमेरिका प्रवेश गर्न चाहने वा प्रवेश गरेकाहरुले समेत झट्का महसुस गरेका छन् । अब यो प्रक्रिया रोकिएपछि अमेरिकामा गएर काम गर्न चाहने दक्ष प्राविधिक जनशक्तिका लागि भिजा प्रोसेसिङ प्रक्रिया लम्बिनेछ, उनीहरुले भिजा पनि निकै ढिलो पाउनेछन् । अमेरिकी सिटिजनसीप एण्ड इमीग्रेसन सर्भिसले यस्तो घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । एचवान बी भिजाको सबैभन्दा ठूलो प्रयोग भारतीयहरुले गर्दै आएका थिए । यो घोषणापछि सबैभन्दा ठूलो झट्का भारतलाई लागेको बताइएको छ । 

अमेरिकाको इमीग्रेसन सर्भिसका अधिकारीहरुले एच वान बी भिजाको प्रिमियम सेवा निलम्बन गरिएपछि सामान्य भिजाको प्रक्रियामा लाग्ने कुल समयमा बचत हुने दाबी गरेका छन् । उसले केही समयसम्म प्रिमियम प्रोसेसिङमा रोक लगाएपछि पुराना भिजाहरुको कतिपय समस्या समाधान गर्न सहज हुनेछ । मिडिया रिपोर्टका अनुसार प्रिमियम प्रक्रियामार्फत अगाडि बढ्दा एच वान बी भिजाको सामान्य बिषय तथा प्रक्रिया पूरा गर्न पनि निकै धेरै समय लाग्ने गरेको थियो । अधिकांश समय एच वान बी भिजाको सामान्य आवेदन पूरा गर्नका लागि लगभग २ सय ४० दिनसम्म लागिरहेको थियो । 

पछिल्लो वर्ष एच वान बी भिजाको प्रिमियम प्रोसेसिङ रिक्वेस्टमा तीव्र बढोत्तरी भएको थियो । यस्तो प्रक्रियामा लगाइएको रोक ६ महिनासम्म रहनेछ । 

के हो प्रिमियम प्रोसेसिङ ?
मौजुदा नियममा रहेर कुनै पनि कम्पनीले अतिरिक्त शुल्क तिरी एउटा फारम भरेर आफ्नो संभावित कामदारको एचवान बी भिजालाई छिटो गराउन सक्छ । कम्पनीले छिटो भिजा प्रक्रिया पूरा गर्नका लागि प्रति कामदार १ हजार २ सय २५ डलर अतिरिक्त शुल्क तिर्नुपथ्र्यो । प्रिमियम प्रोसेसिङ शुल्क जम्मा गरेको १५ दिनपछि इमीग्रेसन सर्भिसले भिजा जारी गर्नुपर्दथ्यो । तर यो प्रक्रिया निलम्बनमा रहेपछि एचवान बी भिजाको साधारण प्रक्रियामा आवेदन दिनेहरुलाई सहज हुने आशा गरिएको छ । 

प्रिमियम प्रोसेसिङ तत्काललाई रोकिएपछि अमेरिकाको सिलीकन भ्यालीमा काम गर्ने कम्पनीहरुलाई सबैभन्दा ठूलो झट्का लागेको रिपोर्टहरुमा उल्लेख गरिएको छ । यसका कारण ती कम्पनीका संभावित कर्मचारीको भिजा आवेदन अझ लम्बिनेछ र यसले कयौं कम्पनीहरु ठूलो संकटमा पर्न सक्छन् ।