-प्रकाश बञ्जारा

यूएई । अन्तर्राष्ट्रिय उडानको सिलसिलामा तपाईको ट्रान्जिट संयुक्त अरब ईमिरेट्स पर्दैछ भने अब मन खिन्न पार्ने अवस्था नरहने भएको छ । यहाँको मन्त्रिपरिषदले हालै गरेको निर्णयसँगै संयुक्त अरब ईमिरेट्स युएईको कुनै पनि अन्तराष्ट्रिय विमानस्थलमा ट्रान्जिट पर्ने गरी यात्रा गरिरहेका ईच्छुक यात्रुका लागि अनअराईभल भिसा पाउने गरी नियम बन्ने भएको छ । 

मन्त्रिपरिषदले अनअराइभल भिसाका लागि ग्रिन सिग्लन दिएसँगै युरोप, अमेरिका लगायत लामो दुरीको यात्राका लागि धेरै ट्रान्जिटको मारमा पर्ने थुप्रै नेपाली समेत लाभान्वित हुनेछन् । 

कस्तो दायरामा भिसा दिने तथा भिसा शुल्क कति लिने भन्ने बिषयमा विस्तृत कानुन भने बनिसकेको छैन । 

सामान्यतया उडानका बखत कुनै पनि देशमा लामो समयको ट्रान्जिट एकदमै दिक्दारको हुने गर्छ । बिमानस्थलको एउटा पर्खाई कक्षमा बसिराखेर लामो समय गुजार्नुपर्ने र बाहिर निस्किन नपाउने हुँदा यात्रुहरु कस्टकर बसाई काट्न बाध्य हुने गर्छन् । 

हालसम्म युएईले युरोप, अमेरिका, गल्फका अन्य सहकार्यका राष्ट्रहरु, युके तथा अमेरिकी ग्रीनकार्ड होल्डर भारतीय नागरिक लगायत ५० देशका लागि मात्र विमानस्थलमै भिसा दिने गरेको थियो । ती देशको सूचिमा नेपालको नाम भने थिएन ।  अबको कानुनी प्रक्रिया समाप्तभएपछि भने ट्रान्जिट प्रयोग गर्ने सबै यात्रुले अन अराइभल भिसाको सुविधा पाउनेछन् । 

धेरैजसो नेपालबाट पश्चिमा देशहरु र अफ्रिकी मुलुकको  उडानको ट्रान्जिट युएई हुने गर्छ, जुन लामो दुरीमा उडान भर्ने बिमानहरु नेपालबाट उडान भर्दैनन् ।  

ट्रान्जिटको छोटो समयमा विमानस्थलबाट बाहिर निस्किन र सानो किनमेल, तथा पूर्व योजनासहित लामो समयसम्म भेट नभएका आफन्तलाई भेटघाट गर्न अनअराइभल भिसा लाभदायी हुनेछ । 

यससँगै ५ ६ घण्टादेखि १ दिनसम्म लामो ट्रान्जिट पर्नेहरुले त युएईका प्रख्यात पर्यटकीयस्थलहरु जस्तै विश्वको अग्लो टावर बुर्ज खलिफा, फूलहरुको बगैंचा मिराकल गार्डेन, समुन्द्रमाथि बनाईएको सुन्दर बस्ती पार्म जुमेरा, प्रख्यात सपिङ्ग मलहरु समेत घुम्न सक्छन् ।