काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदुत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’ को ’फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्स र नेपाल–चिन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री द्वारा संयुक्त रुपमा आयोजित ’प्रोस्पेक्ट्स अफ नेपाल–चिन ट्रेड एण्ड इकोनोमिक रिलेसन्स’ बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत बिश्वब्यापी परियोजना ’बेल्ट एण्ड रोड इनिसियटिभ’ मा नेपाल सहभागी भैसकेकोले यस अन्तर्गत हुने सहकार्यबाट नेपालको समृद्दिको गति तीव्र बन्ने उनको भनाई थियो ।

भर्खरै मात्र नेपालका प्रधानमन्त्री के. पी. शर्मा ओलीको चिन भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरु ऐतिहासिक भएका भन्दै उनले भनिन्, “नेपाल–चिन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षेणमा आइपुगेको छ । यो मैत्रिपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदान–प्रदानले दुवै देशलाई प्रचुर फाइदा र सिकाई हुनेछ ।“

नेपाल–चिनको नयाँ नाका केरुङलाई आधुनिक भौतिक पूर्वाधार सहितको अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गर्न चिन सहयोग गर्न तयार भएको समेत उनको कथन थियो । तातोपानी नाकालाई पुनः संचालनमा ल्याउने सवालमा दुई–पक्षीय रुपमा उच्च तहमा थप कुराकानी गर्दै जान आवश्येक रहेको उनको धारणा थियो ।

सन् २०२० सम्ममा २० लाख पर्यटन भित्र्याउने नेपाल सरकारको लक्ष्य प्राप्त गर्ने कुरामा चीनले सहयोगी भूमिका खेल्न तयार रहेको कुरा पनि राजदुत होङले बताइन् । कनेक्टिभिटीसंग सम्बन्धित भौतिक पूर्वाधार निर्माणको लागि संयुक्त लगानी र मेहनत महत्वपूर्ण हुने उनको तर्क थियो ।

देशको समृद्धिका लागि शिक्षा महत्वपूर्ण भएकोले नेपालको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिमा हाल सात हजार भन्दा बढी बिद्यार्थीहरु चीनमा अध्ययन गरिरहेको कुरा उनले जानकारी दिइन् ।

एक अर्को प्रसंगमा राजदुत होङले भनिन्, “नेपालको सम्भाव्यता थाहा भए भन्दा निकै बढी रहेको र उक्त सम्भाव्यता पत्ता लगाउन चिनले सहयोग गर्नुपर्छ्र ।

सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिका लागि थप चिनियाँ लगानी अपरिहार्य रहेकोमा जोड दिएका थिए । 

चिन सबै भन्दा ठुलो लगानीकर्ता र निर्यातकर्ता मात्र नभै विश्वमै सबै भन्दा ठूलो आयातकर्ता समेत भएकोले उसको हिमालयन छिमेकी नेपालको उत्पादनलाई चीनले आयात गरेर नेपालको चीनसंगको ब्यापार घाटा कम गर्न सघाउनुपर्ने श्रेष्ठको धारणा थियो ।