इण्डोनेशियामा केही दिन अघिदेखि यति लामो ट्राफिक जाम भएको छ कि जसमा फसेकामध्ये १२ जनाको मृत्यु भइसकेको छ । 

बीबीसीका अनुसार पानीको कमी र थकाईका कारण अत्यधिक लामो जाममा फसेकाहरुको मृत्यु भएको हो । 

जावा द्वीपमा इस्लामहरुको पवित्र पर्व रमजानको महिनाको अन्तिममा छुट्टी मनाउन निस्किएका सर्वसाधारणहरुको संख्या ज्यादै भएका कारण औधी  लामो ट्राफिक जाम हुन पुगेको हो । हाल यो क्षेत्रमा गाडीको यति लामो लाइन लागेको छ कि जहाँ लाखौं मानिस फस्न पुगेका छन् । 

इण्डोनेशियाको ट्राफिक विभागका अधिकारीका अनुसार ३ दिनको अन्तरालमा जाममा फसेकामध्ये १२ जनाको मृत्यु भइसकेको छ । 

स्थानीय मिडियाहरुलाई उद्धृत गर्दै बीबीसीले बताए अनुसार मर्नेमध्ये अधिकांश व्यक्ति जेष्ठ नागरिक थिए, लामो जामका कारण उनीहरुको गाडी औधी तातेको थियो । १२ मृतकमा एक बालिका पनि परेकी छिन् । उनको मृत्यु चाहि जाममा फसेका गाडीहरुबाट निस्किएको बिषाक्त ग्यासका कारण भएको बताइएको छ ।