काठमाण्डौ । एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत महानगरीय ट्राफिक महाशाखालाई एउटा ड्रोन हस्तान्तरण गरेको छ । 

करिब २ लाख २० हजार रुपैयाँ मूल्यको एउटा ड्रोन बैंकले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोगी होस् भन्ने उद्देश्यले शुक्रबार एक कार्यक्रमबीच उपलब्ध गराएको हो ।  

ट्राफिक महाशाखाका अनुसार यो डिजिआई कम्पनीको पेन्टिएम फोर मोडलको ड्रोन हो । प्रहरीले ड्रोन चलाउन चार जनालाई तालिम दिएको छ । उनीहरु मध्ये एक जनाले ट्राफिक महाशाखामा बसेर उपत्यकाको सवारी जामको सुुक्ष्म निगरानी गर्नेछन् । उपत्यकामा सबैभन्दा धेरै सवारी जाम हुने समय र स्थानको डोनबाटै सुुक्ष्म निगरानी गर्ने र यसले ट्राफिक व्यवस्थापन अझ सहज हुने प्रहरीको भनाई छ । 

ट्राफिक प्रहरीले धेरै जाम हुने समय बाहेक विशिष्ट व्यक्तित्वहरुको सवारी, विशेष उत्सव तथा महोत्सव, ठूला प्रदर्शन तथा आन्दोलनहरुमा समेत ड्रोनको प्रयोग गर्ने रणनीति बनाएको छ । प्राकृतिक विपत्तिहरुमा ड्रोनको प्रयोग गर्न सकिनेछ । भूकम्प जस्ता प्रकोपको बेला पनि यसले तत्काल उद्धारका लागि घटनाको बस्तुस्थिति देखाउनमा सहयोग गर्ने विश्वास गरिएको छ । 

मुख्यत ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यसको सहयोगले कसरी प्रहरी परिचालन गर्ने र समस्या समाधान गर्ने भन्ने नै मुख्य उदेश्य रहेको ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्यालले बताए ।

यसलाई मानवरहित अर्थात अनम्यान एरियल भेइकल पनि भनिन्छ । बिनामान्छे वा चालक पनि रिमोटको सहायताले चलाउन सकिने साधन हो । यो जहाजजस्तै हावामा उड्छ ।

ड्रोनले आखाँले देख्न नसक्ने टाढा–टाढा कुरालाई पनि खिचेर देखाउन सक्छ ।