नयाँदिल्ली । बैंकमा हुने ठगीमा भारतको आइसीआइसीआई बैंक पहिलो नम्बरमा आएको छ । अप्रिलदेखि डिसेम्बरको बीचमा बैंकहरुमा दर्ता भएको ठगीको बिषयमा भारतीय स्टेट बैंक(एसबीआई) दोश्रो नम्बर तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक तेश्रो नम्बरमा रहेको भारतीय रिजर्ब बैंक(आरबीआई)लाई उद्धृत गर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

आरबीआईका अनुसार भारतको चालुु आर्थिक वर्षको ९ महिनाको अवधिमा आइसीआइसीआई बैंकमा ठगीका ४ सय ५५ उजुरी परेका छन् । यी सबै उजुरी १ लाख भन्दा माथिका थिए । यस्तो सूचिमा दोश्रो नम्बरमा एसबीआई बैंक छ, जहाँ ४ सय २९ उजुरी दर्ता भएका छन् । यसपछि स्ट्याण्डर्ड बैंकमा २ सय ४४, एचडीएफसी बैंकमा २ सय ३७ उजुरी दर्ता भएका छन् । यस्तै, एक्सीस बैंकमा १ सय ८९, बैंक अफ बडौदामा १ सय ७६, सिटी बैंकमा १ सय ५० मुद्धा दर्ता भएका छन् । यी सबै ठगी १ लाख भन्दा माथिका थिए । 

ठगीको संख्यामा आइसीआइसीआई बैंक अगाडि भए पनि रकमको हिसाबले एसबीआई बैंक अगाडि छ । एसबीआईमा ९ महिनाको अवधिमा २ हजा २ सय ३६ करोडको ठगी भएको छ । 

रिजर्ब बैंकको तर्फबाट बित्त मन्त्रालयमा पेश गरिएको एक रिपोर्ट अनुसार बैंकहरुमा भएका अधिकांश ठगीमा बैंकका कर्मचारीहरुको समेत संलग्नता भेटिएको छ । यस्तो ठगीमा एसबीआई ६७ कर्मचारी संलग्न रहेका पाइएको छ । सबै बैंकका ठगी मुद्धामा सबै बैंकका कुल ४ सय ५० कर्मचारीको संलग्नता रहेको पाइएको छ ।