काठमाण्डौ । अनुगमनका क्रममा स्थानीय प्रशासनले भेटेका अवैध औषधि पसलमा सिलबन्दी गरेपछि जनकपुरका सबै औषधि पसल बन्द भएका छन् ।

सिलबन्दीको विरोधमा जनकपुर अञ्चल औषधि व्यवसायी संघले सबै औषधि पसल बन्द गराएको हो ।

पुस २७ गते स्थानीय प्रशासनले गरेको अनुगमनका क्रममा एक अस्पताल, कही क्लिनिक र औषधि पसलसहित १९ स्वास्थ्य संस्था अवैध भेटेपछि सिलबन्दी गरेको थियो । 

अनुगमन समितिका संयोजक तथा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग गर्दै औषधि व्यवसायीले औषधि बिक्री वितरण ठप्प गरेका हुन् ।

औषधि पसल बन्द भएपछि सेवाग्रही मारमा परेका छन् । प्रशासनले आतंककारी शैलीमा पसल बन्द गरेको औषधि व्यवसायीको आरोप छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।