काठमाण्डौ । काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषता सहितको होटल खुलेको छ । नेपाली घर होटल जेठ १६ गते बुधबारबाट औपचारिक सञ्चालनमा आएको हो । होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् ।

करिब ४ बर्षको लागत समयमा ५ तल्ले पर्यटक स्तरीय होटल निमार्ण सम्पन्न भएको हो । काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित यस होटलमा नेपालीकला र संस्कृतिको पहिचान सहित अघि बढाउने उद्देश्य रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए । 

यस होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आर्कषक सजावट गरिएको छ । होटलका आवश्यक सरसमानमा नेपाली बजार प्रर्बद्धन गर्ने उद्देश्यले ग्रामीण भेगका महिलाहरुले तयार गरेका कलासिपहरुलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको छ । 

पाहुनालाई अत्याधुनिक सुविधा, नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने लक्ष्य होटलले लिएको छ । अत्याधुनिक प्रविधिले सुसज्जित होटलमा पाँचतारे होटल सरह सुविधाहरु उपलब्ध छन् । 

होटलले दिने बिशेष सेवा सुबिधामा जस्तैः एक्सक्लूसिभ बेडसहितको आरामदायी कोठा, द्रुतगतिमा चल्ने वाइफाई सुबिधा, २४ सै घन्टा स्वस्थकर  पानी, स्वस्थकर एवं सरसफाई, फिटनेस सेन्टर, मिटिङ हल, दिनभरि नै सेवा दिने रेस्टुरेन्ट, रुम सर्भिस रहेका छन् ।

होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन् । जसमा हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा छन् । यी सबै कोठा परम्परागत नेपाली कलाले बिशेष रुपमा सजिएका छन् । 

होटलका रुममा ४० इञ्चको एलइडी टिभी, विद्युतीय सेफ, मिनी बार, पिउने पानीका बोटल, कफी–टी मेकर, कुकिज, हाइ स्पिड इन्टरनेट, व्यक्तिगत तापमान नियन्त्रण, कटन रिच लिनेन जस्ता सुविधा छन् । 

त्यसैगरी, सहयोगीका लागि निःशुल्क पार्किङ, एयरपोर्ट ट्रान्सफर, विदेशी विनिमय, कोठाभित्रै खाना सर्भ, लौन्ड्री जस्ता सुविधा पनि यहाँ उपलब्ध छ ।