काठमाण्डौ ।राजधानीको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको ठमेल क्षेत्रमा पर्यटक प्रहरीले रात्रि सेवा शुरु गरेको छ । काठमाडौँ महानगरपालिका–१६, १७ र २६ मा रहेको ठमेल क्षेत्रमा आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीले शिवरात्रिदेखि रात्रि सेवा शुरु गरेको हो । अहिलेसम्म पर्यटक प्रहरीले उक्त क्षेत्रमा दिउँसोमात्र सेवा प्रदान गर्दै आएको थियो । 
पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अस्मिता कपाली ठमेल क्षेत्रमा आउने पर्यटक रातिको समयमा ठगिने तथा लुटपाट हुने क्रम बढेपछि पर्यटक प्रहरीले रात्रिकालीन सेवा प्रदान शुरु गरेको बताउनुुहुन्छ । “ठमेल क्षेत्रमा रात्रिकालीन सेवा प्रदान गरेसँगै सो क्षेत्रमा पर्यटक प्रहरी जनशक्तिसमेत थप गरेका छौँ”, उहाँ भन्नुहुन्छ । 
ठमेल क्षेत्रमा रातिको समयमा भारतीय पर्यटक बढी ठगिन थालेको उजुरी पर्यटक प्रहरीमा आएको थियो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सुरक्षाको हिसाबले समेत सफल बनाउन रातिको समयमा सेवा प्रदान गरिएको पर्यटक प्रहरी प्रमुख कपाली बताउनुहुन्छ । 
विसं २०३५ माघ १२ मा स्थापना भएको भएको पर्यटक प्रहरीमा हाल २२७ जनाको दरबन्दी रहेको छ । हाल उपत्यकाको १० र उपत्यकाबाहिर १७ स्थान गरी २७ स्थानबाट पर्यटक प्रहरीले पर्यटकलाई सेवा दिइरहेको छ । पर्यटक प्रहरी नेपाल प्रहरीको भए पनि उनीहरुको सेवा सुविधा भने पर्यटन विभागमार्फत हुँदै आएको छ । 
पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रदर्शक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायत काम गर्दै आएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणा पर्यटक प्रहरीको रात्रिकालीन सेवासँगै ठमेल क्षेत्रको सुरक्षामा थप सहयोग पुगेको बताउनुहुन्छ । “ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई रोक्न परिषद्ले प्रहरीसँग सहकार्य गरेर काम गरिरहेको छ”, उहाँ भन्नुहुन्छ । पर्यटक प्रहरीका अतिरिक्त ठमेल क्षेत्रको सुरक्षा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र महानगरीय प्रहरी वृत्त दरबारमार्गले गरिरहेको छ । 
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटक प्रहरीको आवश्यकतालाई हेरेर अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने बताउनुहुन्छ । “नयाँ स्थानमा पर्यटक प्रहरी राख्नका लागि आएका मागलाई अध्ययन गरी नेपाल प्रहरीमा पठाउने र प्रहरीले सदर गरेपछि उक्त ठाउँमा पर्यटक प्रहरी खटाउने गरेका छौँ”, उहाँ भन्नुहुन्छ ।
नेपालको पर्यटन विकासमा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । महानिर्देशक घिमिरे मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा विभाग गम्भीर भएर लागेको बताउनुहुन्छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री पर्यटक प्रहरीलाई समयानुसार सातै प्रदेशमा लैजाने बताउनुहुन्छ । “पर्यटन विभागले आवश्यकता महसुस गरेर पर्यटक प्रहरी खटाउन आवश्यक ठाने हामी प्रहरी पठाउँछौँ”, उहाँ भन्नुहुन्छ । नेपाल प्रहरीमा ७२ हजारभन्दा बढी जनशक्ति रहे पनि पर्यटक प्रहरीका रुपमा २२७ जनालाई खटाउँदै आएको छ ।