-प्रकाश बञ्जारा
लकडाउनअघि नै संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईबाट छुट्टीमा घर आएका भोजपुरका भुपाल दाहालले कोरोना भाइरसको संक्रमणबाट देश लकडाउन भएसँगै जागिर गुमाए ।

छुट्टी सकिनासाथ कर्मथलो फर्किन नसक्नुको कारण त कम्पनीलाई जानकारी थियो, तर संक्रमणको भयावह अवस्थाले डराएर कम्पनीले छुट्टीमा भएका ९९ प्रतिशत कर्मचारी कटौतीको निर्णय गरिदियो । त्यो लामो सूचिको एक कुनामा भुपालको नाम पनि पर्यो । 

भुपाल दुबईको एक पाँचतारे होटलमा काम गर्थे । जागिर गएसँगै उनको साहारामा चल्ने परिवारले देशमै बिकल्पको खोजी गर्न थालेको छ । 

त्यसो त दुबईकै अर्को पाँच तारे होटलमा काम गर्ने सुनसरीका ललित घिमिरे पनि अहिले घरभित्रै बन्दी छन् । फाल्गुन महिनामा छुट्टी मनाउन घर आएका घिमिरेलार्इ अहिले कम्पनीले कि त राजीनामा दिन नत्र लामो बेतलबी बिदामा बस्न भनेको छ । स्थिति सामान्य हुने र पुनः काममा फर्केने टुङ्गो भने ललितको पनि छैन । 

झन्डै एक वर्ष पहिले आफ्नै पहलमा भिजिट भिसामा  दुबई गएर भर्खरै काममा लागेका सुनसरीको इटहरीका शिशिर शर्मा राम्ररी २ महिना काम नगरी जागिरबाट निकालिए । होटल म्यानेज्मेन्ट सकाएर आफ्नै पहलमा दुबई  गएर जागिर खोजेका शर्मा अबको भबिस्य के हुने हो, अन्यौलमा छन् । 

शर्माले पनि दुबईको पाँचतारे होटलमा जागिर पाएका थिए । अब कम्पनीले कोरोनाको  स्थिति साम्य भएर आफ्नो ब्यापार बढ्न थालेपछि काम दिने आश्वासन त दिएको छ, तर कहिले, कहाँ र कसरी भन्ने प्रश्नको उत्तर भने छैन । 

उता, खोटाङ घर भएका लक्ष्मण बन्जारा पेस्ट्री चेफको रुपमा साउदी अरब पुगेको जम्मा पाँच महिना मात्र भयो । पुग–नपुग २ वटा तलब थापेपछि कोरोना भाइरसका कारण भएको लकडाउनको शिकार भएका उनी कोठामा बसेको ३ महिना हुन लाग्यो। 

लकडाउनले बढाएको महङ्गीमा जुध्न अहिले लक्ष्मण जस्ता थुप्रैलाई हम्मे परिरहेको छ । झनै अहिले कम्पनीले सबै नयाँ कामदारलाई जागिरबाट निकालेर आफ्नै मुलुक फर्किनु भनी बाटो खुल्ला गरिदिएपछि लक्ष्मण कम्पनीसँग हवाई टिकटका लागि लडाइ लडिरहेका छन् । बन्द भएका हवाई सेवा नखुलेको र देश लगायत बिश्व नै चपेटामा परेको बेला कुन बाटो भएर कहिले कसरी घर फर्कने अनि बिदेश जाँदा लागेको झन्डै १ लाख ऋण कसरी तिर्ने उनको टाउको दुखाइको विषय बनेको छ । 

माथि उल्लेख गरिएका केही नेपालीहरु अहिलेको कोरोना महामारीले नराम्ररी थिचिएका प्रतिनिधि पात्र मात्रै हुन । बिश्वव्यापी संक्रमण फैलिएपछि यसबाट असर नपरेको क्षेत्र सायदै होला, तर ठूलो मात्रमा होटल, पर्यटन तथा सुबिधाका क्षेत्रमा काम गर्ने कामदार धेरै मर्कामा  परेका छन् । 

ठूलो लगानीमा अनि अन्तर्राष्ट्रिय पर्यटकहरूलाई लक्षित गरेर खोलिएका होटलमा तत्काल कोही आएर बस्ने सम्भावना छैन । फेरि महामारी बिश्वब्यापी भएकाले पनि तत्काल  बिलाशिताका लागि घुम्न र खर्च गर्न पर्यटक आउने सम्भावना शून्य जत्तिकै छ । त्यसो हुनाले पनि होटल उद्योगमा काम गर्ने कामदार कोरोनाको कारण बढी प्रभावित हुने निश्चित नै हो । त्योसँगै खाडी देशमा रहेका अरु क्षेत्रकै कम्पनीहरु पनि कोरोनाकै कारण निकै लामो समय उठ्न नसक्ने गरी लडेका छन । जसको असर सो क्षेत्रमा काम गर्ने लाखौं नेपाली कामदारमा पनि परेको छ । 

अब देश फर्किएर के गर्ने र कसरी परिवारको आधारभूत आवश्यकता पूरा गर्ने साथै कोरोनाको सम्भाबित महामारीबाट आफू र आफ्नालार्इ कसरी जोगाउने,  त्यो सारा प्रबासी नेपालीको चिन्ताको विषय बनेको छ ।