काठमाण्डौ । देशको निर्यात डरलाग्दो गरी घटेको छ । अर्कोतर्फ आयात उस्तै गरी बढेको छ । आयात बढिरहँदा निर्यात घट्नुुले देशको सवल अर्थतन्त्रमा कालोबादल मडारिएको प्रतित हुन्छ । यसले देशको सवल अर्थतन्त्रको बिषयमा चिन्ता गर्नेहरुलाई गम्भीर बनाइदिएको छ । 

नेपाल राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको चालुु आर्थिक वर्षको पहिलो महिनाको समीक्षा रिपोर्टमा कुल वस्तु निर्यात ३.९ प्रतिशतले घटेर रु. ६ अर्ब ६८ करोड पुगेको बताइएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १०.१ प्रतिशतले निर्यात घटेको छ भने चीनतर्फ ११.३ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जस्तापाता, धागो, तयारी पोशाक, पिना द्ध लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैचा, पोलिष्टर धागो, टूथपेष्ट, अलँैची लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ९.३ प्रतिशतले बढेर रु. ७७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ९ प्रतिशत, चीनबाट भएको आयात १४.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ७.१ प्रतिशतले बढेको छ । समग्रमा पेट्रोलियम पदार्थ, सुन, सिमेन्ट, हटरोल सिट ईन क्वाईल, हवाइजहाजका पार्टस् लगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, मेशिन तथा पार्टस्, विजुलीका सामान, कोल्ड रोल्ड सिट ईन क्वाईल, कृषि उपकरण, लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विरगञ्ज भन्सार, सुख्खा वन्दरगाह, र कैलाली भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ । आयाततर्फ, वीरगञ्ज भन्सार, सुख्खा वन्दरगाह, विराटनगर भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, नेपालगञ्ज भन्सार, कृष्णनगर भन्सार, कैलाली भन्सार र जलेश्वरबाट भएको आयातमा वृद्धि भएको छ । 

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.७ प्रतिशतले बढी रु. ७० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।