काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । 

नेपाल राष्ट्रबैंकले मंगलबारका लागि एक अमेरिकी डलरको रिफ्रेन्स रेट ११२ रुपैयाँ २० पैसा तोकेको छ । चौबीस दिनअघि ११० रुपैयाँ ७८ पैसा तोकेको थियो । 

नेपालको इतिहासमा हालसम्म कहिल्यै पनि नेपाली रुपैयाँ यति धेरै कमजोर भएको थिएन । विगत ७ हप्तादेखि नै डलरको भाउ ११० रुपैयाँ र त्यसमाथि नै घुमिरहेको हो । 

भारतीय मुद्राको तीव्र अवमूल्यनको प्रभाव नेपाली मुद्रामा समेत देखिएको छ । नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमय दर रहेको छ । सोमबार अमेरिकी डलरसँग भारतीय मुद्रा इतिहासकै कमजोर बनेको थियो । यो दिन एक अमेरिकी डलर खरीदका लागि ६९.९३ भारु खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । 

यसकारण डलरको उतारचढावबाट भारुमा प्रभाव पर्दा त्यसको सोझो असर नेपाली मुद्रामा पर्ने गर्छ । यहीकारण लामो समयदेखि भारतसँगको स्थिर विनिमय दर परिवर्तन(पुनर्विचार) हुनुपर्ने माग उठ्दै आए पनि सरकार वा सम्बद्ध निकायले यो बिषयलाई गम्भीर रुपमा लिएका छैनन् । यसको गम्भीर असर देशकै अर्थतन्त्रमा परिरहेको छ । 

सन् २०१६ नोभेम्बर ३० मा अमेरिकी डलरको भाउ बढेर ११० पुगेको थियो । भारतीय संचारमाध्यमहरुले समेत भारु सन् २०१६ नोभेम्बर २९ पछिकै सबैभन्दा सस्तो भएको बताएका छन् । भारतीय आयातकर्ता तथा बैंकहरुले माग गरेको ठूलो परिमाणको डलरका कारण भारतीय मुद्रा यति साह्रो अवमूल्यन भएको बताइएको छ । किनभने यी क्षेत्रबाट ठूलो मात्रामा डलर भारतबाट बाहिरिएको बताइएको छ । 

भारुका कारण नेपाली मुद्रा समेत इतिहासकै कमजोर भएपछि यसले देशको अर्थतन्त्रमा थुप्रै प्रभावहरु पार्ने अर्थविदहरुले बताएका छन् । यो पटक नेपाली मुद्रा गत अप्रिलदेखि नै अवमूल्यनमा पर्दै आएको थियो ।

अर्थविदहरुको भनाईमा भुक्तानी सन्तुलनलाई नियन्त्रणमा राख्न नसकेको नेपालजस्तो देशका लागि डलरको भाउ बढ्नु दुःखद पक्ष हो, कारण यसले आयातलाई महङ्गो बनाई देशकै अर्थतन्त्रलाई डामाडोल बनाइदिनसक्छ । 

तर, नेपाली मुद्राको अवमूल्यको सकारात्मक पाटाहरु पनि हुन्छन् । विज्ञहरुकाअनुसार रेमिटान्समा आधारित अर्थतन्त्रमा भित्रने रेमिटान्स डलर मजबुत हुँदा बढ्छ । यस्तै, निर्यातबाट प्राप्त आम्दानी समेत बढ्छ । 

यसैगरी, अमेरिकी डलरको उच्च क्रय क्षमताले नेपालजस्तो देशमा पर्यटकहरुको आगमन बढाउन समेत मद्धत पुग्नसक्छ । डलरको मजबुतीले भन्सार आय समेत बढ्नसक्छ । 

तर, डलरको मजबुतीबाट नेपालजस्तो देशलाई घाटा पनि कम हुँदैन । आयातमा आधारित अर्थतन्त्रमा आयातको खर्च बढ्दा अवस्था नाजुक हुनसक्छ । भुक्तानी सन्तुलनमा दवाब पर्नेछ भने वैदेशिक ऋण तिर्दा देशले बढी पैसाको जोहो गर्नुपर्नेछ । 

अमेरिकी डलरमा कतिपय जलविद्युत कम्पनीसँग सम्झौता हुने भएकोले डलरको भाउ बढ्दा यसले भविष्यमा नेपाल विद्युत प्राधिकरणको घाटा बढाइदिनसक्छ । 

यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि तोकिएको हवाई भाडादर समेत महङ्गो पर्नसक्छ । यसले विदेश पढ्न, बिजिनेश गर्न, घुम्न वा काम गर्न विदेश जानेहरुको बजेट समेत बढाइदिन्छ । डलरको भाउ बढ्दा अमेरिकी डलरको कालोबजारी समेत बढ्ने डर हुन्छ।

डलरको भाउ बढ्दा घाटै घाटा
नेपालले गत आर्थिक वर्षको ११ महिनामा ७४ अर्ब ७१ करोड रुपैयाँ बराबरको निर्यात र ११ खर्ब ७ अर्ब रुपैयाँको आयात गरेको छ।

डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वतः बढ्छ। उसै त कहालीलाग्दो स्थितिमा रहेको व्यापार घाटा त्यसो हुँदा झनै बढ्छ।

यो घाटाको अर्को नराम्रो असर चालु खाता तथा शोधनान्तरमा पर्छ। विदेशी मुद्राको सञ्चिति पनि घट्छ।

अहिले नै यो सञ्चितिमा चाप पर्न थालेको देखिन्छ। पछिल्लो विवरणमा शोधनान्तर घाटा करिब ४ अर्ब ३४ करोड पुगिसकेको छ।

डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन्। सियोदेखि गाडीसम्म आयातमा निर्भर नेपालको निम्ति यो ठूलै बेफाइदा हुन्छ।

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ। तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्छ। इन्धनको मूल्य चर्को हुन सक्छ।

यसैगरी, दशौँ हजार नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्छ।

डलरको भाउ बढ्नेबित्तिकै त्यसले ती विद्यार्थीको परिवारमाथि एक्कासि आर्थिक बोझ थपिन्छ।

केन्द्रीय बैंकका एक अधिकारीका अनुसार यसै गत आर्थिक वर्षमा मात्रै विद्यार्थीका कारण ४० अर्ब रुपैयाँ बराबरको रकम बाहिरिएको छ । डलरको भाउ बढ्दै गए यसमा चाप पर्छ।

अर्को प्रमुख बेफाइदा चाहिँ नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ।