काठमाण्डौ । विज्ञ अर्थमन्त्रीको रुपमा देशको अर्थतन्त्रको बागडोर डा. युवराज खतिवडाले सम्हाले पछि देशको अवस्था झनै डामाडोल बन्दै गएको छ । 

विज्ञ अर्थमन्त्रीले हाँकेको अर्थतन्त्र झन झन बढी रोगाउँदै गएको देखिएको छ । 

डाक्टर अर्थमन्त्रीले अर्थतन्त्रको बागडोर सम्हालेपछि देशको वित्तीय स्वास्थ्यमा सुधार हुने धेरैको अपेक्षा थियो । तर, पछिल्लो तथ्यांकले अवस्था झनै जटिल बन्दै गएको र देशको अर्थतन्त्र संकटतर्फ धकेलिँदै गएको देखिएको छ । 

नेपाल राष्ट्रबैंकले शुक्रबार प्रकाशित गरेको अघिल्लो आर्थिक वर्षको ११ महिनासम्मको अवस्था हेर्दा अर्थतन्त्र समस्याको जटिल भूमरीमा फस्दै गएको देखिएको छ । 

प्रमुख आर्थिक सूचकहरुमा निराशाका काला बादल मडारिएका छन् भने देशको वित्तीय स्वास्थ्य झनै खराब बन्दै गएको छ । 

आर्थिक वर्ष ०७५/७६ को ११ महिनाको अवधिमा उभपोक्ता मुद्रा स्फिति बढेर ६.२ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को यही अवधिमा यस्तो मुद्रास्फिति दर ४.१ प्रतिशत मात्रै थियो । 

आयातको वृद्धिदर घटेको, निर्यातको वृद्धिदर बढेको र विप्रेषण आप्रवाह समेत बढेको भए पनि शोधानान्तर घाटा भयावह रुपले बढेको छ । आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको तुलनामा समीक्षा अवधिमा शोधानान्तर घाटा १९९२.८५ प्रतिशतले बढेको छ । यसको अर्थ देशको अर्थतन्त्र संकटमा फसिरहेको छ भन्ने हो । 

०७४/७५ को ११ महिनाको तुलनामा ०७५ ७६ को ११ महिनामा विदेशी महिनाको सञ्चिती समेत ५.७६ प्रतिशतले घटेर  १०३०.८८ अर्बमा सीमित बन्न पुगेको छ । यो पनि देशको अर्थतन्त्र झन् झन् रोगिँदैछ भन्ने अर्को एउटा प्रमाण हो । 

देशको चालु खाता घाटा बढेर २४८.७२ अर्ब पुगेको छ । ०७४/७५ को ११ महिनाको तुलनामा चालु खाता घाटा १८.८८ प्रतिशतले बढेको देखिएको छ । 
बजेट घाटा पनि २३.७२ प्रतिशतले बढेर २.२० अर्ब पुगेको छ । 

समीक्षा अवधिमा सरकारी खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७७ प्रतिशतले घटेको देखिएको छ भने सरकारी राजश्व १९.१४ प्रतिशतले बढेको छ । 

सरकारको नगद मौज्दाततर्फ भने ३३.७८ प्रतिशतको गिरावट देखिएको छ । समीक्षा अवधिमा सरकारको नगद मौज्दात १६४.५४ अर्ब रहेको छ । 

बाह्य क्षेत्र डामाडोल
आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई रु.८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर रु.१२९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७५/७६ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले विस्तार भई रु.१२११ अर्ब ९६ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो।

२०७६ जेठ महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क २.४ प्रतिशत र आयात मूल्य सूचकाङ्क १.९ प्रतिशतले बढेको छ । २०७५ जेठ महिनामा वार्षिक बिन्दुगत आधारमा ४.४ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ जेठ महिनामा ०.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय रु.१० अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ९.७ प्रतिशतले वृद्धि भई रु.६८ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोआय रु.६२ अर्ब ५७ करोड रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय १२ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ४५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.४० अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.७१ अर्ब ८६ करोड रहेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भई रु.७९९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा व्यक्त गर्दा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई रु.२४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२१० अर्ब २४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब ३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा २ अर्ब २० करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१५ अर्ब २ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ८८ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११०२ अर्ब ५९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा रु.१०३० अर्ब ८८ करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा रु.९८९ अर्ब ४० करोड रहेकोमा २०७६ जेठ मसान्तमा रु.८८५ अर्ब ८३ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा रु.१४५ अर्ब ५ करोड पुगेको छ । २०७६ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।