काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले १ लाख रुपैयाँसम्मको राजश्व इपेमेन्टमार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ । 

बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)सँगको सहकार्यमा यस बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत एकलाख रुपैयाँसम्मको राजश्व भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको हो । 

सो सुबिधा उपयोग गर्न बैंकका ग्राहकले एक पटकका लागि आफ्नो खाता नं. एनसीएचएलको ई–पेमेन्ट सम्बन्धी वेबसाइट www.connectips.com मा दर्ता गराई सोको फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्नेछ । रुजु भएपछि रू. १ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको https://rajaswa.fcgo.gov.np मा लगइन गरी राजश्व भुक्तानी गर्न सक्नेछन् ।

सो सम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ्ग हाउस को वेबसाइटबाट समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ  ।  

ग्राहकको सुविधालाई मध्यनजर गर्दै  डिजिटल भुक्तानी प्रणालीअन्र्तगत यस्ता सुविधाहरुलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले जनाएको छ ।

हाल यो बैंक मुलुकभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रु १५९ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. ११० अर्ब र कुल निक्षेप करिब रु. १३६ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा छ ।