काठमाण्डौ । एनआइसी एशिया बैंकले आफ्ना ग्राहक डिजिटल बैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइ दिने अभिप्रायले आफ्ना सबै शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकीकरण गरी स्मार्ट टेलर संचालनमा ल्याएको छ । 

स्मार्ट टेलरमार्फत बैंकका ग्राहकले चेकबिना नै आफ्नो मोवाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरी  काउण्टरबाट रकम झिक्न सक्नेछन् । 

यो कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास लिइएको छ । 

यो बैंकले डिजिटल बैंकिङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तयारी थालेसँगै विभिन्न डिजिटल सुविधा घोषणा गर्न थालेको हो । आफ्ना सेवालाई पूर्ण डिजिटाइज्ड गर्ने बैंकले यसअघि नै घोषणा गरिसकेको छ । 

कुल कारोबारमा डिजिटल बैंकिङको हिस्सा अन्य बैंकको तुलनामा निकै धेरै रहेको यो बैंकले भविष्यमा आफ्ना सबै सेवालाई डिजिटाइज्ड गर्न खोजिरहेको छ । 

शाखासहितको बैंकिङमा सबैलाई उछिनेको यो बैंकले भविष्यमा समेत उत्कृष्ट बन्ने अभिप्रायले डिजिटल प्रविधि भित्र्याउने विषयमा विशेष ध्यान दिइरहेको देखिन्छ । यही क्रममा बैंकले मंगलबार मात्रै अनलाइनबाटै केवाइसी अपडेट गर्न सकिने सुविधाको लञ्च गरेको थियो । 

हाल यो बैंकको देशभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भइसकेको छ । 

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ।