काठमाण्डौ । दुई लघुवित्तको बम्पर लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।

डिप्रोक्स लघुवित्त र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेका बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो । दुवै लुघवित्तले साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि (माघ १३ गते) सोमबारदेखि बुक क्लोज गर्ने निर्णय गरेका छन् । यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र दुवै लघुवित्तको साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

डिप्रोक्सले यही माघ २६ गते आइतबार चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिर्सोटमा आफ्नो १८ औँ वार्षिक साधारणसभा गर्दैछ । 

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ४५ प्रतिशत लाभांश पारित र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव विशेष रुपमा प्रवेश पाउने छन् ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ७७ करोड ३४ लाख १० हजार ४४१.९३ रुपैयाँको ४५ प्रतिशतले हुन आउने ३४ करोड ८० लाख ३४ हजार ६९८.५८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । प्रस्तावित लाभांशमा ३० प्रतिशतले हुन आउने २३ करोड २० लाख २३ हजार १३२.५८ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुने आउने ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभामा अन्य उपयुक्त इजाजत प्राप्त ‘घ’ वर्गका लुघवित्त वित्तीय संस्थासँग आपसमा गाभ्ने गाभिने र प्राप्ति गर्ने कार्यको सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

यसैगरी नागबेली लघुवित्तले यही माघ २६ गते नै झापाको बिर्तामोडस्थित होटल सिटी पार्टी प्यालेसमा आफ्नो १० औँ वार्षिक साधारणसभा गर्दैछ । 

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनीय प्रस्ताव गरिएको कुल २७.१३६ प्रतिशत लाभांश पारित हुनेछ ।

संस्थाले चुक्तापूँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक १.३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यो हिसाबले संस्थाले ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस सेयर र २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

सभामा बोसन सेयर वितरणपछि हुन आउने चुक्तापुँजीको ४:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।