-भक्तराज रसाइली
काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह-२०१८ को अवसरमा सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न पाइने घोषणा गरेको थियो । सिडिएससीले निकै रवाफका साथ निःशुल्क डिम्याट खाताको स्किम घोषणा गरे पनि त्यसको कार्यान्वयन भने उल्टो देखिएको छ । डिम्याट खाता निःशुल्क रुपमा खोल्न पाइने भनिएकै बेला केही बैंकहरुले भने सर्वसाधारणबाट रकम असूलेर ठगी गरिरहेका छन् । 

त्यसै पनि 'पानी पर्दा छाता फिर्ता माग्ने' उपमा पाएका बैंकहरुले निःशुल्क डिम्याट खाताको घोषणालाई असफल बनाइदिएका छन् । सिडिएससीले सबै बैंक तथा मर्चेन्ट बैंकरलाई परिपत्र गरी निःशुल्क डिम्याट खाताको व्यवस्था गर्न भने पनि उसको निर्देशन बैंकहरुले उल्लंघन गरेका पाइएको छ । 

ठूला भनिएका बैंकहरुले सर्वसाधारण लगानीकर्ताबाट डिम्याट खाता खोल्दा पहिलाको झै शुल्क असूलिरहेका बिजशालाले गरेको खोजको क्रममा पाइएको छ । 

नबिल बैंकको मैतीदेवी शाखाकी एक कर्मचारीले  डिम्याट खाता खोल्न कति शुल्क लाग्छ भन्ने जिज्ञासामा १ सय ५० रुपैयाँ नै लाग्ने दाबी गरिन, जुन गलत हो । 

सेतोपूलस्थित एभरेस्ट बैंकमा त डिम्याट खोल्दा १५० रुपैयाँ लाग्ने र लाभांश संकलनका लागि सोही बैंकमा खाता खोल्नुपर्ने  जिकिर समेत त्यहाँ कार्यरत एक महिला कर्मचारीले गरिन् । ती कर्मचारीले खाता खोल्दा न्यूनतम ५ सय रुपैयाँ लाग्ने बताइन । उनले डिम्याट खाता निःशुल्क खोल्न पाइन्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको र माथिबाट त्यस्तो जानकारी समेत नआएको दाबी गरिन् । 

एक नेपाली एक डिम्याट खाताको लक्ष्य लिएको धितोपत्र बोर्डको नीतिलाई समेत चुनौति दिंदै एभरेष्ट बैंकले सर्वसाधारणलाई लुटिरहेको देखिएको छ । यो बैंकमा एउटा सेयर लगानीकर्ताले डिम्याट खाता खोल्दा ६ सय ५० रुपैयाँ अनिवार्य चाहिने देखिएको छ । 

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार डिम्याट खाता खोल्दा तत्काल लाग्ने ५० रुपैयाँ शुल्क छुट दिइएको छ । १ सय रुपैयाँ चाहि एकवर्षको नवीकरण शुल्क बैंकहरुले अग्रीम रुपमा लिंदै आएका छन् । उनको भनाईमा १५० रुपैयाँमध्ये १०० मात्र लिन पाइन्छ, ५० रुपैयाँ लिन पाइन्न । आफूहरुकहाँ पनि केही बैंकहरुमा सर्वसाधारणबाट घोषणाविपरीत डिम्याट खाता खोल्दा पूरा शुल्क असूल्ने गरिएको सूचना आएकोले सिडिएससीले सबै डीपी सदस्यलाई पुनः परिपत्र गरेको छ । 

अडियो प्रमाण बिजशालासँग सुरक्षित छ।