काठमाण्डौ । सेयर कारोबारका लागि तपाईले खोल्नु भएको डिम्याट अकाउण्टबाट समेत फर्जी काम र ठगीधन्दा हुनसक्छ भन्ने कुरा थाहा छ ? यस्तो काम संभव छ र यसबाट बच्न समेत उत्तिकै सहज पनि ।

सेयरको अभौतिकीकरणसँगै डिम्याट अकाउण्ट खोलेर त्यसबाट सेयर कारोबार गर्न मिल्ने बनाइएसँगै नेपालमा समेत सेयरको भौतिक युगको अन्त भइसकेको छ । 

सेयर लगानीकर्तालाई कागज बोकेर दौडिनुपर्ने झञ्झटबाट मुक्ति मिलेसँगै डिम्याट खातासँग जोडिएका केही जोखिमहरु पनि सुविधासँगै प्राप्त भएका विज्ञहरु बताउँछन् । 

हामी भन्दा आधुनिक बजार रहेको छिमेकी देश, भारतमा समेत डिम्याट अकाउण्टमार्फत फ्रड(ठगी) भएका केही घटना बाहिर आएका इकोनोमिक टाइम्सले जनाएको छ । 

केही हप्ता पहिला त्यहाँ डालमिया भारत ग्रुपले केही ब्रोकर मिलेर आफ्ना केही सहायक कम्पनीहरुको डिम्याट अकाउण्टबाट ३४४ करोड भारु बराबरको म्युचुअल फण्डको इकाई ट्रान्सफर भएको उजुरी गरेसँगै त्यहाँ फेरि एकपटक डिम्याट अकाउण्टको सुरक्षाको विषयलाई लिएर बहस छेडिएको छ । 

नेपालमा समेत यस्तो फट्याई नहोला भन्न सकिन्न । उसो भए कुनै लगानीकर्ताको डिम्याट अकाउण्टबाट यस्तो फ्रड भयो भने के गर्ने ?के डिम्याट खाताबाट यसरी गायब पारिएका सेयरहरु फिर्ता ल्याउन सकिन्छ ? आफ्नो डिम्याट अकाउण्टलाई यस्ता खालका ठगीबाट बचाउन के गर्नुपर्ला ? केही एजेन्सीहरुको सहयोगमा हामीले यो सामाग्री तयार गरेका छौ ।

त्यसो त अबको समयमा धोकाधडीको गुञ्जायस निकै कम पनि हुँदै गएको मानिन्छ । ब्रोकरहरुले सीमित उद्देश्यका लागि मात्र आफ्ना ग्राहक(लगानीकर्ता)बाट मञ्जुरीनामा लिन सक्छन् । यसअघि उनीहरुले ग्राहकहरुबाट व्यापक अधिकार लिने गर्थे । तर, अब उनीहरुको क्षेत्राधिकार धितोपत्र तथा फण्डको ट्रान्सफर सेटलमेन्टको उद्देश्यमा मात्र सीमित गरिएको छ ।  ब्रोकरले अफ मार्केट ट्रेडका लागि धितोपत्रको ट्रान्सफर गर्न सक्दैनन् भने ग्राहकको लिखित सहमतिबिना उनीहरुको नाममा कारोबार पनि गर्न सक्दैनन् ।

पहिला ब्रोकरले सेयर खरीदपछि उसको क्लाइन्टको अकाउण्टमा सेयर ट्रान्सफर गर्नुको साटो त्यसलाई साझा पुल अकाउण्टमा राख्थे र त्यसको उपयोग अर्को ग्राहकको मार्जिन मेन्टेनमा गरिन्थ्यो । तर, इलेक्ट्रोनिक डिम्याटमा गुपचुप रुपमा कसैको सेयर ट्रान्सफर गर्नु असंभव जस्तै भइसकेको छ । त्यसकारण नेपालमा पनि यदि कुनै सेयरको इकाई वा कित्ता धोकाधडीपूर्ण तरिकाले ट्रान्सफर गरियो भने त्यो कुरा पत्ता लाग्न धेरै समय नलाग्ला ।

भारतमा भएको पछिल्लो घटनामा ब्रोकरले म्युचुअल फण्डको इकाई ट्रान्सफर गर्नका लागि कम्पनीको आधिकारिक हस्ताक्षरकर्ताको हस्ताक्षरको नक्कल गरेका थिए । यसको स्पष्ट सन्देश हो, लगानीकर्ताहरु सधैं सचेत हुनुपर्छ, कारण गलत नियत भएका कतिपय ब्रोकरहरुले सिस्टमको कमजोरी पहिल्याउँदै ठगीको अनेकन बाटो समेत खोजिरहेका हुन सक्छन् ।

अधिकांश रुपमा धेरै उदारता देखाएर कारोबारमा नोक्सानी व्यहोर्ने ब्रोकरहरु यस्ता खालका ठगी धन्दामा सहभागी हुने गरेको पाइएको विज्ञहरुले दाबी गरेका छन् । एक भारतीय विज्ञले यो विषयमा भनेका छन्–‘इमानदार ब्रोकर लागत खर्च सहन्छन्, तर उद्धण्ड ब्रोकर सधैं धोकाधडी नै गर्ने विषयमा सोच्छन् ।’

कसरी बच्ने डिम्याट ठगीबाट ?

  • तपाईको अकाउण्टसँगै इमेल आइडी र मोवाइल नम्बर समेत जोडिएको छ कि छैन सुनिश्चित गर्ने गर्नुहोस् ।
  • डिम्याट अकाउण्टमा हरेक कारोबारपछि डिपोजिटरीबाट प्राप्त हुने एसएमएस वा इमेललाई राम्रोसँग पढ्ने गर्नुहोस् ।
  • प्रत्येक महिना ब्रोकरबाट प्राप्त हुने होल्डिङ स्टेटमेन्ट अनिवार्य जाँच गर्ने गर्नुहोस् ।
  • धोकाधडी भएको वा त्यस विषयमा ब्रोकरको तर्फबाट कुनै काम नभएको अवस्थामा डिपोजिटरीलाई तुरुन्त जानकारी गराउनुहोस् ।
  • ब्रोकिङ अकाउण्टमा अतिरिक्त रकम नराख्नुहोस्, बरु सेयर किन्ने बेलामा मात्रै आफ्नो बचत खाताबाट आवश्यक रकम ट्रान्सफर गर्ने बानी बसाल्नुहोस् ।
  • अफलाइन कारोबारका लागि आफ्नो हस्ताक्षर भएको डेलिभरी इन्स्ट्रक्सन स्लिप ब्रोकरको अफिसमा नछाड्नुहोस् ।