काठमाण्डौ । नेप्सेको अनलाइन प्रणालीमा डिम्याट खाता इन्टीग्रेसन भएसँगै क्लोजआउट(खातामा सेयर नभई बेचिएको खण्डमा तिर्नुपर्ने २० प्रतिशत जरीवाना) पनि ह्वात्तै घटेको छ । 

सेयर खरिदबिक्री गर्दा अफलाईन र अनलाइन दुवैको डिम्याटमा भएको फ्री ब्यालेन्स सेयर मात्रै बेच्न मिल्ने भएपछि पछिल्लो समय क्लोजआउटमा पनि निकै कमी आएको हो । 

लकडाउन अगाडिको सेयर कारोबार राफसाफ तथा फर्छ्यौट हुँदा दैनिक औसत ५० कारोबार संख्या बराबर १ लाख रकम क्लोजआउट पर्दै आइरहेको थियो । 

वार्षिक औसत ४ करोड रुपैयाँ हाराहारीमा क्लोजआउट भइरहेकोमा लकडाउनपछि गत असार १५ गते सोमबारदेखि खुलेको धितोपत्र बजारमा हिजो बिहीबारसम्म  भएको कारोबार राफसाफ तथा फर्छ्यौटमा जम्मा २ लाख रुपैयाँ मात्रै क्लोजआउटमा परेको सिडिएससीले जनाएको छ । 

डिम्याट खाता पनि इन्टीग्रेट भएपछि खातामा भन्दा बढी सेयर बेच्नै नमिल्ने भएता पनि पछिल्ला क्लोजआउट भने सेयर बिक्रेता (लगानीकर्ता)ले नै बिर्सेर सेयर ट्रान्सफर गर्न ढिला हुनु, ब्रोकरले ढिला सेटलमेण्ट गर्नु, गलत सेटलमेण्ट लगायतका कारणले भएको बताइन्छ।