काठमाण्डौ । पछिल्लो ५ वर्षमा डिम्याट खाताको संख्यामा अभूतपूर्व उछाल आएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले डिम्याट खाताको अवधारणाको सुरुवात भने वि.सं. २०६९ साल साउन १ गतेबाट ल्याएको हो । 

सिडिएससीले सेयर खरिदबिक्रीको राफसाफ तथा फछ्र्यौट का लागि २०७२ साल माघदेखि भने अनिवार्य रुपमै डिम्याट खाता लागू गरेको थियो । 

सिडिएससीले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा डिम्याट खाता  ४ लाख १८ हजार ९९१ जनाले खोले । आव २०७३/७४ मा ३ लाख ४१ हजार ३९९, २०७४/७५ मा ४लाख ७४ हजार ४८२ जनाले डिम्याट खाता खोले । 

यसैगरी,  आव २०७५/७६ मा २ लाख ७३ हजार ६०७ डिम्याट खाता खुले । गत आर्थिक वर्ष २०७६/७७ मा १ लाख ८१ हजार ५५८ वटा डिम्याट खाता खुलेको सिडिएससीले जनाएको छ । 

हाल डिम्याट खाताको संख्या १७ लाख ९४ हजार ६८६ रहेको सिडिएससीको तथ्याङ्क छ ।

नयाँ कम्पनीहरुका भारी परिमाणमा आएका आइपीओहरुले समेत जनलहर ल्याउँदा डिम्याटको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । शिवम् सिमेन्ट, अपर तामाकोशी, सान्जेन जलविद्युत्, रसुवागढी हाइड्रोपावर, नेपाल पुर्नबीमा कम्पनीलगायतका आइपीओहरुले समेत प्राथमिक बजारमा प्रवेश गर्ने नवप्रवेशीमा नयाँ उत्साह र रौनक छाउँदा डिम्याटको संख्यामा समेत उछाल आएको देखिन्छ । 

उसो त नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा आवद्ध कर्मचारी र सञ्चयकर्ताहरुलाई  समेत कतिपय आइपीओमा आरक्षण भएपछि डिम्याट खाताको संख्या बढेको हो ।

यसैगरी, नेपाल धितोपत्र बोर्डले समेत आवेदक सबैलाई समानुपातिक रुपमा १० कित्ता आइपीओ बाँडफाँड गर्नैपर्ने प्रावधानले समेत प्राथमिक बजारमा आम सर्वसाधारणको चासो बढ्दै गइरहेको छ भने थोरै पैसाको लगानीमा अधिक मुनाफा हुने ग्यारेण्टी भएकाले समेत विद्याथीहरुको क्रेज समेत अत्यधिक छ ।