-भक्तराज रसाइली
धरान । डीपी सेवा लिएका धरानका अधिकांश 'क' वर्गका बैंकहरुले निशुल्क भनिएको डिम्याट खाताका नाममा अबैध असूली गरिरहेका पाइएको छ । 

धरान शाखा रहेका अधिकांश बैंकहरुले डिम्याट खाता खोल्दा अनिवार्य सोही बैंकमा खाता पनि खोल्नुपर्ने भन्दै जनतालाई बेवकूफ बनाइरहेका भेटिएको हो । 

असोज १९ गते सम्पूर्ण डीपीहरुलाई डिम्याट खाता खोल्न लाग्ने ५० रुपैयाँ शूल्क छूट गरिएको सर्कूलर भए पनि बैंकहरुका डीपीहरुले धमाधाम ठगी गरिएको पाइएको हो ।

धरानस्थित ग्लोबल आईएमई बैंकले डिम्याट खाता खोल्दा धितोपत्र बोर्ड र सिडिएससीको नीति र घोषणा विपरीत १५० रुपैयाँ शुल्क ग्राहकसँग असूलिरहेको छ । त्यहाँका कर्मचारीले डिम्याट खाता खोल्दा १५० रुपैयाँ तिर्नैपर्ने बिजशाला संवाददातालाई बताए । कर्मचारीसँगको अडियो वार्ता हामीसँग सुरक्षित छ ।

लक्ष्मी बैंकको धरान शाखाले पनि डिम्याट खाता खोल्दा १५० शूल्क असूलिरहेको फेला परेको छ । प्राईम कमर्सियल बैंकले समेत डिम्याट खाता खोल्दा १५० र अनिवार्य सो बैंकमा बैंक लिन्क गर्ने बहानामा १ सयमा खाता खोल्नपर्ने बाध्यता भिडाएर ठगी गरिरहेको पाइएको छ ।

धरानका अन्य वाणिज्य बैंकहरुले पनि डिम्याट खाता खोल्दा शुल्क असूलिरहेका छन् भने अन्य विभिन्न बाहानामा सर्वसाधारणबाट रकम असूलिरहेका पाइएको छ । 

नेपाल बंगलादेश बैंकको धरान शाखाले छूट गरे पनि बचत खाता १ सयमा खोल्नै पर्ने सोही बैंकमा कार्यरत कर्मचारीले सुनाए ।

नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता निरान्जय घिमिरेलाई आफूहरुको नीति विपरीत वाणिज्य बैंकले ग्राहकबाट रकम असूलिरहनु गलत रहेको र कसैले उजुरी गरे त्यस्ता कम्पनीमाथि कारबाही हुने दाबी गरे ।