काठमाण्डौ । दशैंतिहारजस्ता ठूला पर्वको अवसरमा बियर पिउनेहरुको संख्या नेपालमा बढ्दो छ । नेपालीहरुको बढ्दो बियरमोहका कारण स्वदेशी र विदेशी गरी दर्जनौ ब्राण्डका बियर बजारमा उपलब्ध छन् । नेपालीहरुले पर्वको अवसरमा बियरको उपभोग बढाइरहँदा यही बेला बजारमा आफ्नो उत्पादनलाई बिकाउन जर्मन बियर वस्र्टाइनरले हत्कण्डा प्रयोग गर्न खोजेको फेला परेको छ । 

उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै जर्मनको चर्चित बियर वस्र्टाइनरले नेपाली उपभोक्तालाई प्रयोग मिति सकिनै लागेको बियर अनेक हत्कण्डा प्रयोग गरी भिडाउने योजना बनाएको रहस्य खुलेको हो ।

नेपालमा वस्र्टाइनर बियरको व्यवसायिक उत्पादन जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिजको सहायक कम्पनी राज ब्रुअरीले गरिरहेको छ । 

जर्मन बियर वस्र्टाइनरलाई राज ब्रुअरीले देशैभर छ्यापछ्याप्ती पार्यो । तर, देशका अधिकांश ठाउँमा यो बियर अपेक्षाजस्तो बिक्री भएन र कम्पनीको गोदाम, होलसेल र रिटेल पसलहरुमै थन्कियो । प्रिमियम आउटलेटमा मात्र यसको बिक्री हुने गरेको र यस्तै आउटलेटमा उपभोक्ता प्रयोग मिति सकिन लागेका बियर प्रयोगमा झुक्किनसक्ने देखिएको छ । 

यसअघि नै बजारमा पठाइएका हजारौं कार्टुन बियरलाई दशैंतिहारको अवसरमा सल्टाउने योजना बनाइएको छ । तीमध्ये धेरैजसोको प्रयोग मिति सकिन अब १ महिना मात्र बाँकी छ भने कतिपय ठाउँमा अनुगमनको क्रममा प्रयोग मिति सकिएका केही बियर समेत फेला परेका छन् ।

बिजशालाले यो बिषयमा देशैभरि गरेको खोजको क्रममा समेत प्राय हरेक ठूला शहरका बियरका डिलरहरुमा प्रयोग मिति सकिन एक महिना मात्र बाँकी रहेका बियरहरु भेटिएका छन् । 

कम्पनीस्थित उच्च स्रोतका अनुसार देशभर प्रयोग मिति सकिन लागेका वस्र्टाइनर बियर करिब ६० हजार कार्टुन गोदाम, होलसेल र रिेटलेमै थन्किएर बसेका छन् । ‘स्वास्थ्यका लागि हानिकारक यस्तै बियर सोझा नेपालीलाई भिडाउन कम्पनीले दशैं अफर समेत ल्याउन खोजेको छ ।’ उच्च स्रोतले भन्यो–‘बजार अनुगमन गर्ने सरकारी निकायले ध्यान नदिने हो भने पर्वको नाममा योपटक नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुँदैछ।’

कम्पनीले अनुगमन गर्ने सरकारी निकायहरुमा दशैं विदा सुरु भएकै दिनदेखि गोदाममा थन्किएर डेट एक्सपायर भएका र हुन लागेको बियरमा आक्रामक अफर दिई बजारमा लैजाने योजना बनाएको उच्च स्रोतले दाबी गरेको छ । 

वस्र्टाइनर बियर जर्मनको लोकप्रिय बियर हो । तर, नेपालमा भने यो ब्राण्डकै बदनाम हुने गरी डेट एक्स्पायर बियर बजारमा ल्याउन खोजिएको देखिएको छ । यस्तो अवस्थामा उपभोक्ता आफैं जागरुक हुनुको अर्को विकल्प छैन ।

त्यसै पनि अधिकांश नेपाली उपभोक्ता प्रयोग मितितर्फ ख्यालै नगरी उपभोग्य वस्तु खरीद गर्छन् । नेपाली उपभोक्ताको यही कमजोरीको फाइदा उठाएर वस्र्टाइनरले प्रयोग मिति सकिएका बियर सल्टाउन लागेको देखिएको छ । 

अनुगमनमा कहाँ के देखियो ?
काठमाण्डौको घट्टेकुलोस्थित स्तुती मेरोमार्टमा जर्मन बियर वस्र्टाइनरका केही कार्टुन भेटिए । त्यहाँ भेटिएका बियरको प्रयोग मिति सकिन १ महिना मात्र बाँकी रहेको देखियो । मार्टका सुदीप थापाले जर्मन बियर भनेर फाट्टफुट्ट बिक्री हुने गरे पनि हप्तौअघि आएको सबै माल बिक्री हुन नसकेको सुनाए । 

मैतीदेवीको हिमांशु स्टोरमा नोभेम्बरमा प्रयोग मिति सकिन लागेको वस्र्टाइनर भेटिए । त्यहाँका संचालक थानेश्वर पोखरेल समेत यो बियरप्रति उपभोक्ताको प्रतिक्रियाबाट उत्साहित भेटिएनन् । उनले प्रयोगमिति सकिन लागेका बियर लैजान कम्पनीलाई आग्रह गर्दा दशैं अफरमा सल्टाउन भनिएको खुलासा गरे । 

काठमाण्डौको डिल्लीबजारस्थित एसपिएन लिक्वीयर सपका युवराज केसीले आफूसँग स्टकमा भएको वस्र्टाइनर बियरको प्रयोग मिति सकिन लागे पनि कम्पनीले फिर्ता नलगेको बताए । उनकोमा नोभेम्बर १८ मा प्रयोग मिति सकिने वस्र्टाइनरका केही कार्टुन भेटिए । 

डिल्लीबजारकै टुल्की स्टोरका बसन्त सुवेदीले २ महिनाअघि झारेको वस्र्टाइनर नबिकेको र ग्राहकले खासै नखोज्ने बताए । उनले तुलनात्मक रुपमा महङ्गो भएका कारण समेत नेपाली उपभोक्ताले यो बियरको धेरै माग नगरेको हुनसक्ने दाबी गरे । 

अनामनगरको न्यू तुलाधार स्टोरकी रिजु कोइरालाका अनुसार वस्र्टाइनर बियरको खासै माग नभएका कारण स्टकमा केही कार्टुन थन्किएर बसेको बताइन् । उनकोमा पनि प्रयोग मिति सकिन लागेका बियर भेटिए । 

अनामनगरकै प्रशिक्षा ट्रेडर्समा २ दिनअघि झारिएका ५० केस वस्र्टाइनर बियरमध्ये सबैकै प्रयोग मिति नोभेम्बर दोश्रो साता सकिने भेटिएको छ । यसबाट कम्पनीले आफ्नो गोदाममा थन्काएर राखेको पुरानो बियर समेत पर्वको मौका छोपेर सल्टाउन खोजेको देखिन्छ । 

काठमाण्डौमा भन्दा मोफसलका जिल्लाहरुमा प्रयोग मिति सकिन लागेका वस्र्टाइनर बियर छ्यापछ्याप्ती भेटिए ।

धरानको मायावी रेष्टुरेन्टका संचालक योगेश लिम्बूले प्रयोग मिति सकिन लागेका वस्र्टाइनर बियर बजारमा रहेको बताए । डेट एक्सपायर बियर कसरी बिक्री गर्ने भन्दा कम्पनीका कर्मचारीले अफरको लोभ देखाएका र पर्वको बेला धेरैको उपभोग मितितर्फ ध्यान नहुने भएकोले सल्टाउन भनेका खुलासा गरे ।

वीरगञ्जका निकै पुराना मदिरा व्यवसायी रितेश गुप्ताले आफूले केही रक्सी स्टोरहरुमा डेटएक्सपायर वस्र्टाइनर देखेको दाबी गरे । उनले पर्वको बेला वस्र्टाइनरले नेपाली उपभोक्तालाई झुक्याउन लागेको भन्दै यो बिषयमा सरकारी निकायले बेलैमा बजार अनुगमन गर्नुपर्ने सुझाव समेत दिए । 

जनकपुर, राजविराज, रौतहट, लहान जस्ता क्षेत्रका केही रक्सी स्टोरहरुमा बुझ्दा त्यहाँ समेत डेट एक्सपायर वस्र्टाइनर बियरका सयौं कार्टुन रहेका बताइएको छ । 

विराटनगरका स्टोरहरुमा चाहि नोभेम्बरमा प्रयोग मिति सकिने वस्र्टाइनर बियर छ्यापछ्याप्ती भेटियो । 

हेटौडा, नारायणघाट, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायतका क्षेत्रका केही सीमित स्टोरहरुमा बुझ्दा त्यहाँ समेत वस्र्टाइनरको हालत उस्तै देखिएको छ । यी सबै शहरमा सैयौं कार्टुन बियर थन्किएर बसेका छन् । ती अधिकांश क्षेत्रका मदिरा व्यवसायीहरुले कम्पनीलाई डेट एक्सपायर भइसकेका र हुन लागेका बियर फिर्ता लैजान भन्दा दशैं अफरमा सल्टाउन भनिएको हाम्रा प्रतिनिधिहरुलाई सुनाए ।