काठमाण्डौ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा संलग्नताको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले थप ३ जनालाई पक्राउ गरेको छ । 

यसअघि गत शुक्रबार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका संचालक समितिका अध्यक्ष तथा हाल एनसीसी बैंकका संचालक विष्णु धितालसहित १३ जनालाई पक्राउ गरेको थियो । 

त्यसपछि शनिवार दिउँसो बानेश्वरबाट बैंकका अर्का संचालक छविरमण अधिकारीलाई पक्राउ गरिएको थयो । 

सीआइबीले सो प्रकरणमा संलग्नताको आरोपमा कृवेन्द्र श्रेष्ठ, प्रमोद भट्टराई र सजल बज्राचार्यलाई समेत पक्राउ गरेको हो । 

पक्राउ पर्नेमध्ये कृवेन्द्र श्रेष्ठ हाल जनता बैंकको बनेपा शाखामा कार्यरत छन् । उनलाई बनेपाबाट पक्राउ गरिएको हो । भट्टराईलाई काठमाण्डौको बागबजार र बज्राचार्यलाई बालुवाटरबाट पक्राउ गरिएको बताइएको छ । यो प्रकरणमा संलग्न अझै केही व्यक्ति फरार रहेका र उनीहरुको खोजी कार्य जारी राखिएको सीआइबीले प्रष्ट्याएको छ । 

यी सबै व्यक्तिको मिलेमतोमा एनसीसी बैंकसँग मर्जरमा जाने सहमतिपछि हतार हतार घोटाला गर्ने उद्देश्यका साथ नेपालगञ्ज, सुर्खेत, इटहरी, भक्तपुरको लोकन्थली र काठमाण्डौको दरबारमार्गका शाखाबाट खोला बगर, भिरालो जमीन देखाएर अनियमित ढंगले कर्जा प्रवाह गरिएको थियो ।

उनीहरुमाथि कृत्रिम ऋणि खडा गरेको समेत आरोप लाग्दै आएको छ । घोटाला गर्ने नियतका साथ जथाभावी गरिएको कर्जा प्रवाहको यो प्रकरण एनसीसी बैंकसँग मर्जरमा आएपछि मात्र खुलेको थियो ।