काठमाण्डो । मोबाईल मेसेजिङ सेवामार्फत मानिसमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस आइतबारदेखि नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । 

यस अवधिमा कम्पनीले डेढ करोड बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गर्न सफल भएको छ । 

हाल १८०० भन्दा बढी संस्था तथा कम्पनीहरुले स्प्यारो एसएमएसको बल्क एसएमएस(एकै पटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेका छन् । 

जानकि टेक्नोलोजी प्रा. लि.ले यसरी एकैपटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको सुरुवात गरेको थियो । 

अझै पनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने  एउटा सहज माध्यम बनेको छ । 

कुनै पनि सूचनालाई भिन्दाभिन्दै जानकारी गराउन धेरै समय लाग्ने अवस्थाबाट पनि बल्क एसएमएस सेवाले सहजता प्रदान गर्छ । यसबाट सजिलैसँग थोरै समयमा धेरैलाई जानकारी पुर्याउन सकिन्छ ।

स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरुका साथै नेपालका विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ । 

साथै, स्प्यारो एसएमएसले मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेल र रिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमतिपत्रबारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी उपलब्ध गराउँदै आएको छ ।

२०७२ बैशाखमा गएको विनाशकारी भूकम्प र अन्य आपतकालिन क्षणमा पनि स्प्यारोले एसएमएस मार्फत तुरुन्तै सूचना प्रदान गरी उद्धार र राहतलगायतका कार्यमा सहयोग गरेको थियो ।