-भक्तराज रसाइली
काठमाण्डौ । ढुंगाको काँपमा पिपल उम्रिने मुलुक हो नेपाल । संभावनै संभावनाले भरिपूर्ण हाम्रो देशमा असंभव केही छैन । बग्रेल्ती अवसर भए पनि त्यसलाई चिन्ने जमातको संख्या निकै कम छ । आफ्नै देशको अवसरलाई चिन्ने सीमित संख्याका युवाहरुमध्येकै एक हुन ३१ वर्षीय योगेश बस्ताकोटी र उनको जोडी । 

उनले काठमाण्डौ वडानम्बर २९ स्थित घट्टेकुलोमा संचालन गरेको मिराज बेकरीको व्यवसाय निकै लोभलाग्दो देखिन्छ । बस्ताकोटी र उनकी पत्नी बबिता दुलाल र उनीहरु मातहतका कर्मचारीहरु मिराज बेकरीमा आउने विजिनेशको डिमाण्डलाई पूर्ति गर्ने सधैं हतारोमा हुन्छन् । भ्याई नभ्याई उनीहरुको दैनिकी नजिकबाट नियाल्नेहरुले समेत उनीहरुको विजिनेश ग्रोथ र चार्म के छ भन्ने कुरा सहजै आँकलन गर्न सक्छ । 

चितवनको भरतपुर १२ का बस्ताकोटी जोडी पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने युवाहरुको मान्यता तोड्दै गर्ने इच्छा शक्ति भए स्वदेशमै उद्यम गरेर राम्रो आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।  

उनको मिराज बेकरी घट्टेकुलोमा सञ्चालन भएको डेढ वर्षमै लोभलाग्दो व्यापार गर्ने अवस्थामा पुगिसकेको छ । उनीहरुको स्तरीय उत्पादन र राम्रो डेलिभरीका कारण स्थानीय र थाहा पाउने काठमाण्डौबासीको रोजाई बनिरहेको त्यहाँ आएका नियमित ग्राहक सुजन निरौलाले बताए । 

कलेज पढ्दापढ्दै बस्ताकोटीले सुरुवाती करिअर चितवनस्थित  एक बोर्डिङ्ग स्कुलमा शिक्षकका रुपमा मासिक २ हजार तलब बुझ्ने गरी थालनी गरेका थिए । राजधानी छिरेपछि भने मासिक १३ हजारको मार्केटिङ्गको जागिर गर्दै संघर्ष गरेको बताउने उनी र उनको परिवारले बौद्धमा अवस्थित मिराज ग्यालरी रेष्टुरेन्टमा ७ लाखको लगानीबाट उद्यम थालेको थियो ।

बस्ताकोटी सबै नेपालीको सपनाको सहर राजधानी काठमाण्डौ आएको पनि ७ वर्ष भइसक्यो । 

विभिन्न सानो स्केलका कम्पनीमा मार्केटिङ्ग जागिर गरेका बस्ताकोटीले ३ वटा कम्पनीमा ५ वर्ष काम गरे । शंकरदेव क्याम्पसबाट स्नाकोत्तर तहमा मार्केटिङ्ग अध्ययन गरेका उनले अहिले आफैं खटिएर उद्यमशीलतालाई बढावा दिइरहेका छन् ।

उनी र उनको परिवारले काठमाण्डौंको बौद्धमा मिराज क्याफे ६ वर्षअघि जन्माएको  र हाल मिराज ग्यालेरी क्याफे रेष्टुरेन्टका रुपमा सेवा दिइरहेको उनी बताउँछन् । त्यसपछि हाल सिस्टर अर्गनाइजेसनका रुपमा करिब डेढ वर्षअघि काठमाण्डौको घट्टेकुलोमा मिराज बेकरीको स्थापना गरेको उनको भनाइ छ ।

चितवनमा आफू कलेज पढ्दै स्कूलमा पढाउने जागिर खाँदा मासिक २ हजार कमाउने गरेको, राजधानी छिरेपछि मासिक १३ हजारको मार्केटिङ्गको जागिर गर्दै संघर्ष गरेको, बौद्धमा अवस्थित मिराज ग्यालरी रेष्टुरेन्टमा ७ लाखको लगानीबाट सुरु पारिवारिक व्यवसाय आफूले फूल टाइमको रुपमा सम्हालेको उनले बताए । 

हाल परिवारमा बाआमा, २ भाइ र श्रीमतीका साथमा ६ जनाको परिवार रहेको र उनको व्यवसायलाई परिवारका सबै सदस्यले सहयोग गरिरहेका छन् ।

हाल बौद्धमा ५० लाखको लगानी पुगिसकेको र घट्टेकुलोमा ३० लाख हाराहारीको लगानी गरेका बस्ताकोटी परिवारले दुवै ठाउँमा १४ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । 

यात्रा भर्खर सुरु गरेको बताउने बस्ताकोटी भन्छन्–‘हाम्रो बजारमा उपस्थिति नयाँ हो, हामी सिकिरहेका छौ । फड्कै मारेको त नभनौं, तर आन्तरिक गृहकार्य राम्रो छ । हाम्रो तयारी अझ निखार्न प्रविधि, ज्ञान र सीप नै हासिल गर्नमा हामी बढी केन्द्रीत छौ।’

तीस लाख खर्च गरी बिदेश जाने र उतै रमाउने सपनामा कैयन युवा आकर्षित भइरहेका बेला बस्ताकोटी भने स्वरोजगार गरे मुलुक बन्ने र मुलुकका लागि केही योगदान दिन यहीँ दुःख संघर्ष गरिरहेको जिकिर गर्छन्। 

‘बिदेशमा बस्ने साथीहरुसँग कहिलेकाहीँ कुरा हुन्छ, तर कुराकानीकै क्रममा बुझ्दा उनीहरुका फेसबुकका भित्तामा जस्तो जीवन छैन।’ उनले भने–‘बिदेशमा तेस्रो दर्जाको नागरिक हुनुभन्दा यहीँ केही गर्ने अठोट लिएको छु । बिदेशले त केबल हामीलाई जहिल्यै विकल्पका रुपमा ग्रहण गर्छ  र भोलिका दिनमा पनि त्यही  हो ।  त्यसका सट्टा स्वदेशमा नै केही उद्यम गरे रोजीरोटी र रोजगारीसमेत सिर्जना सकिने सम्भावनालाई मूर्तरुप दिन दिलोज्यान दिएर लागेको छु।’

नेपालमा मनाइने उत्सव र चाडपर्वका लागि बेकरी आइटमका केक गुणस्तरीय उत्पादनमा जोड दिइरहेका बस्ताकोटीले होटल, पार्टी प्यालेस  र व्यक्तिगत अर्डरमा पनि सेवा गरिरहेको बताए । उसो त उनले सामाजिक सञ्जाल फेसबुक र इन्साटाग्राममार्फत पनि अर्डर लिई आफ्नो कारोबार गरिरहेको र यसले व्यवसायलाई थप मजबुत र विस्तार गर्न सघाउ गरिरहेको बताए । 

पाउरोटी, कुकिज डोनटलगायतका बेकरी आइटमसमेत समावेश गरेका बस्ताकोटीले कोदो, जौ, फापर, तिल, मुग्रेलोका पाउरोटी उत्पादन समेत गरेर भेराइटी उत्पादन गरेर सिर्जनशीलता पस्किरहेका छन् भने शरीरका लागि लाभदायक खाद्यसामाग्रीको उपयोगले मानवीय स्वास्थ्य सुधार्न समेत सहयोगी हुने बताएका उनले हाइफाइबर ब्रेड लगायत सबै खालको प्रडक्ट सिरिजमार्फत बेकरी प्रडक्ट बजारमा ल्याएको बताए । यसका साथै शुद्ध साकाहारीलाई मध्यनजर गर्दै एगलेस आइटम पनि आफ्नो बेकरीले बनाइरहेको जानकारी दिए ।

ग्राहकले किन मिराज बेकरी रोज्ने ?भन्ने बिजशालाको जिज्ञासामा बस्ताकोटीले भने–‘ग्राहकलाई धेरै बेच्नका लागि कहिल्यै व्यवसाय नगरेको र नगर्ने पनि बरु राम्रा प्रडक्ट र गुणस्तरमा ध्यान दिदै माउथ पब्लिसिटीमा विश्वास राखेका छौं । आजसम्म पनि विज्ञापनमा १ रुपैयाँ खर्चेको छैन र गर्न पनि पर्दैन । इन्ग्रिडेन्टमा कैफियत गदैैनौं र साथमा गुणस्तरमा पनि ।’ 

ठमेल र बौद्धका ग्राहक जो प्रडक्ट फ्युजन रुचाउँछन् र काठमाण्डौं नै मुख्य खपत गर्ने स्थान भएको र  ग्राहकहरुले विभिन्न बिदेशी केक फ्लेवरमा यहाँ उत्पादन गरेको मिराज बेकरीले खानेकुराको सौखिन सबै वर्ग र ग्राहकका लागि सिरिज नै उपलब्ध गराइरहेको बस्ताकोटीको जिकिर छ ।

स्थानीय ग्राहक दिगो हुने बुझेका बस्ताकोटीले बेलुकी ५ बजेपछि स्टक क्लियर गर्न सेल लगाएर सबै आइटममा १० प्रतिशत छुट र पेष्ट्रीको लाइफ कम हुनाले ३० प्रतिशत छुटमा बिक्रीवितरण गर्ने गरेको र यसले स्थानीय उपभोक्तासँग आत्मीयता बढाउन सहयोग गरिरहेको उल्लेख गर्दै उनले भने–‘आजसम्म ग्राहकको गुनासो लिएर फर्केको अनुभव मसँग छैन ।’ ख्यातिप्राप्त सेलिब्रेटी र राज्यका उच्च अधिकारीहरु समेत आफ्नो उत्पादनबाट सन्तुष्ट भएको बस्ताकोटीको दाबी छ । 

अठारवटा बढी अनलाइन डेलिभरी पार्टनर समेतलाई समाहित गर्दै   चाडपर्वमा त अझै बढी बिक्री गर्नुपर्ने हुँदा भ्याइनभ्याइ हुने गरेको बस्ताकोटी भन्छन्–‘रेष्टुरेन्ट र अन्य खुद्रा बेकरीलाई उत्पादित सामान दिने गरेका छौं ।’ 

दैनिक  २ हजार ग्राहकलाई मिराजका उत्पादन मार्फत सेवा दिइरहेका उनले एक पाउण्डको केक वा ५ सय बराबरको सामानमा निःशुल्क होम डेलिभरी पनि हुने गरेको बताए । 

सामान्य दिनमा दैनिक ३० हजार र उत्सव पर्वका बेला सोभन्दा बढी बिक्री हुने गरेको र खर्च कटाएर २५ प्रतिशत मार्जिन बस्ने उल्लेख गर्दै बस्ताकोटीले भने–‘हामी अहिले बचत भन्दा पनि पूर्वाधार बढाइरहेका छौं ।’

बीएचएम पढेका विद्याथीहरुलाई ३ देखि ५ महिना सम्म प्रशिक्षार्थी बनाएर सीप विकास गर्ने र शाखा विस्तार गर्ने योजना रहेको उनले सुनाए । बेकरी व्यवसाय फर्टाइल व्यववसाय रहेको उनको बुझाइ छ ।

उद्यमशील बन्ने सोच चाहिँ कसरी आयो भन्ने जिज्ञासमा जागिरमा पर्फेक्ट टिम नहुने, तर व्यवसायमा टिम र सोंचले चल्छ भन्ने बुझेका बस्ताकोटी आज विश्वमा सफल व्यवसायमा राम्रो टिम र उच्च सोंच हुनुपर्ने मान्यता राख्छन् । 

कर्मचारीबाट प्रडक्टीभिटी लिन असमर्थ हुने र व्यवसाय असफल हुनसक्ने संभावना रहेको उल्लेख गर्दै उनले भने–‘त्यो मानसिकता गलत हो, यद्यपि चेन अफ कमाण्ड भन्दा पनि टिमलाई परिवारमा ढाल्न सकेमात्र व्यवसायलाई विकास र विस्तार गर्न सकिनेमा म विश्वास गर्छु ।’

सरकारले दिएको अनुदान राम्रो व्यवसाय गर्ने व्यक्तिको हातसम्म कहिल्यै नपुग्ने दाबी गर्ने बस्ताकोटी कार्यकर्ता र कर्मचारीतन्त्र चिन्न निकै अप्ठ्यारो रहेको दाबी गर्छन् ।

सरकारी संयन्त्र आफूहरुसमक्ष  कहिले नआएकोमा उनले दुःखेसो गर्दै भने–‘हामी त जहिल्यै कि लाइसेन्स नवीकरण कि त कर दाखिला गर्नमात्र उपस्थित हुने गरेका छौं । सरकार कहिल्यै के समस्या छ भन्दै करदाता नागरिकको दैलोमा आउदैन । उद्यमी बन्न खोज्दा समेत राम्रा प्रस्ताव बैंकहरुले अस्वीकार गर्छन । वाणिज्य बैंकहरुले ऋण माग्दा प्रपर्टी खोज्छन्, हाम्रो अवधारणालाई हेर्दैनन् । तर भीरपाखा र बिदेशबाट आएका व्यक्तिले सजिलै ऋण दिने परिपाटीले नै कतिपय युवाहरु पूँजीको अभावमा उद्यमशीलता गर्भमै तुहाई विदेशिन बाध्य भइरहेका छन्।’

अर्कातर्फ भने मेटेरियलको क्वालिटीमा एकरुपता नभएको  र समस्याहरुको चाङ्गका बारेमा कुरा गर्दा दिन बित्छ उनले भावुक मुद्रामा भने–‘सकारात्मक पाटोबाट सोच्ने हो भने चाहिँ नेपाल कुनै नयाँ व्यवसायका लागि फर्टाइल नै छ । हामी नेपाली धेरै अल्छी छौं, हामी धेरै अल्छी भएकैले काम अरुले गरिदिए हुन्थ्यो भन्ने सोच पालेकाले नै अरुले गरिदिए हुन्थ्यो भन्ने काम हामीले गरिदियौ भने त कमाइ हुने भो नि ।’ 

उनले सम्भावनालाई नयाँ चिराबाट औंल्याए । । त्यही अल्छीबाट काम र व्यवसायको प्रार्दुभाव हुन्छ भन्ने तर्क राख्दै उनले व्यवसाय गर्दा जहिले पनि के गर्ने होइन कि बरु के चाहिएको छ भन्ने सोंचे व्यवसाय सफल हुने उनको दाबी छ ।

आफूमा भएको सीप र व्यवसाय गर्ने ठाउँमा के चाहिएको छ, त्यो २ वटा चीजको तारतम्य मिलाए सोही ठाउँमा व्यवसायको सिर्जना हुने बस्ताकोटीले तर्क राखे । उनले उदाहरण दिदै भने–‘जस्तो धूलोको समस्या काठमाण्डौंमा जनतादेखि प्रधानमन्त्री सबैलाई थाहा छ । मास्क को बिक्री हेर्नुु न सबभन्दा बढी बिक्री हुन्छ, फेसबुक पेजमा मास्क १० रुपैयाँमा राखेर ३ रुपैयाँमात्र नाफा राखी १ सयवटा बेच्न सके कमाइ जोड्नुस् ।’

यस क्षेत्रमा विद्यमान चुनौतिका रुपमा खाद्यआइटमका बिजनेसमा ग्रेडिङ्ग हुनुपर्ने त हो नै तर बेलाबेलामा मनिटरिङ्ग हुन आवश्यक रहेको उनको ठम्याई छ । दशैंमा मात्र अनुगमन गर्ने परिपाटीको अन्त गर्दै स्वस्थ व्यापार व्यसायको चलन बसाउन आवश्यक रहेको बस्ताकोटी बताउँछन् ।

युवाहरुलाई नेपालमा सम्भावना छैन भन्दै बिदेश हुइँकिने, तर बिहारका २० प्रतिशत युवा रोजीरोटीका लागि नेपाल आइरहेकोमा चिन्तित बस्ताकोटीले भने–‘इञ्जिनियरले नेपालमा २० हजारको जागिर खान लाइन लाग्ने, तर भारतबाट आएका वेल्डरले ५० हजार आइसी लिएर जान्छन् । हामीसँग समस्या सर्टिफिकेट हैन कि सीपको कमी हो  ।  बजारमा अथाह सम्भावना छ र कमाइ पनि छ, तर हामीसँग सीपकै कमीले नेपालबाहिर अरबौं पैसा बाहिरिएको छ।’

बस्ताकोटीले थपे–‘सीपमा हामीले कहिल्यै प्रतिस्पर्धा गरेनौं ।’ 

पढेकाले सानोतिनो काम गर्न नहुने प्रचलनलाई तोड्दै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्नुपर्ने बेला भइसकेको उनको मत छ । 

सरकारले युवाहरुलाई मिसगाइड गरिरहेको आरोप लगाउने बस्ताकोटीका अनुसार  रेमिटयान्सलाई जोड दिने दीर्घकालीन सोंचलाई लत्याउँदै स्वदेशमै उद्योगधन्दा र उद्यमको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताउँछन् ।

नेपालमा नै अथाहा सम्भावना जुटाउनु पर्छ, घुम्न, पढ्न सीप  र सिक्न बिदेश जानुपर्छ भन्ने मत जाहेर गर्दै बिदेशमा क्लिनरको काम गरेर नेपाल फर्केकाहरुले यहीँ क्लिनरका रुपमा काम थालनी गरिरहेका उदाहरणले राष्ट्रको सम्मुनतिले चाँडै मूर्त रुप लिनसक्नेमा उनी आशावादी देखिए । यसरी नै क्लिनरको परिभाषा नै परिवर्तन गरिदिएको बिदेशको परिभाषा बदलिँदै गरेकोमा उनले खुशी व्यक्त गरे । 

सरकारी अनुदान हालसम्म नलिएका उनले  लिन पनि इच्छा नभएको बताउँछन् ।

बरु धाउन भन्दा पनि त्यो समय आफ्नै काममा लगाए फाइदा हुन्छ भन्ने उनको मत देखियो । एकलाख मूल्य पर्ने मेसिन अनुदान पाउन २ लाख बराबरको मेहेनत गर्नुपर्ने तीतो अवस्था रहेको उल्लेख गर्दै युवालाई उद्यमशील बनाउन हौसला र सरकारको सकारात्मक कदम आवश्यक रहेकोमा जोड दिए ।