-भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजार रहस्यमय हुन्छ । यसको गति कहाँ रोकिन्छ र कहाँ गएर अगाडि बढ्छ, कसैले भन्न सक्दैन । तर, केही अनुभवको प्रयोग गरी भाग्यले साथ दिए, बजारमा सही समयमा प्रवेश गर्न र बाहिरिन सकेको खण्डमा सेयरबाटै करोडपति बन्न सकिन्छ । हिम्मत र सुझबुझका साथ राम्रा कम्पनीका सेयर खरिद गरेर धैर्यता राखी बजारबाट करोडपति बनेका केही प्रतिनिधिपात्रमध्ये फरक प्रोफेसनका एक इञ्जिनियरको सफलताको कथा पनि कम रोचक छैन ।

ललितपुरको भैंसीपाटी बस्ने पेशाले इञ्जिनियर, तर नामूद सेयर कारोबारी प्रकाश पोखरेल आँट र हिम्मतले सेयरबाट सफल भएका एक उदाहरणीय पात्र हुन् । 

धैर्यताले सेयर बजारमा करोडपति बनेका पोखरेल विगत १७ वर्षदेखि मेकानिकल इञ्जिनियरका रुपमा बीमा समितिबाट लाइसेन्सप्राप्त फ्रीलान्सरको रुपमा इन्सुरेन्स सर्भेयरको रुपमा कार्यरत छन् । 

पोखरेल रसियाबाट मेकानिकल इञ्जिनियरिङ विषयमा एम.ई.उत्तीर्ण हुन् । ७ वर्षअघि अनामनगरमा रहेको बाजेको चिया पसलमा चिया पिउँदै गर्दा अचानक ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि.का निर्देशक रामचन्द्र भट्टराईसँग भेट भयो । भेटकै क्रममा परिचय आदानप्रदान भई सेयर किन्न आर्यताराका भट्टराईले पोखरेललाई प्रेरित गरे।

आँटिला र हिम्मतिला पोखरेलले १/२ लाखको सेयर तत्कालै किनेर सिधै दोस्रो बजारमा पाइला टेके । पैसा कमाउन नेपालमा भ्रष्टाचार र अनियमितता गर्नुपर्ने, तर सेयर बजारमा पैसा कमाउन सहजै सकिने पोखरेलको अनुभव छ ।

आर्यताराका भट्टराईकै सुझाव बमोजिम पोखरलले पुनः २० लाख जति सेयरमा लगानी थपे । पोखरेलले सेयर बजार प्रवेश गर्दा नेप्से इण्डेक्स ३ सय ५० मा सीमित थियो ।

पछि बजार बढ्ने क्रममा रहेकै बेला पोखरेलले बैंक ऋण लिएर थप ५० लाख फेरि लगानी थपे । राष्ट्रिय बीमा कम्पनी लि.(आरबीसीएल) १३ सयदेखि १६ सयसम्म ७ सय कित्ता सेयर किनेको समेत कुराकानीको क्रममा सम्झिए । उनले १ सय १४ प्रतिशत बोनस पाएर समेत पछि १९ हजारसम्म बेचेको सुनाए । 

प्राथमिक बजारमा भन्दा दोस्रो बजारबाटै मनग्यै पैसा कमाएका उनले आइपीओ भने कम नै भर्ने गरेका छन् ।  दोस्रो बजारमा छिर्दा सुरुमा आरबीसीएलको १० कित्ता सेयर १३ सय प्रतिकित्तामा किनेका थिए ।

पोखरेलले सर्भेयरको कामबाट हुने आम्दानीले सामान्य घरखर्च चलाउँदै आएका थिए । तर सेयर बजारबाट कमाएको पैसाले भैंसेपाटीमा २ वटा घरजग्गा र गाडी समेत जोड्न भ्याइसकेका छन् । 

आफ्नो पोर्टफोलियोमा लामो समयदेखि होल्ड गरेका अधिकांश सेयर बजार बुम भएका बेला बेचेर निस्कदै उनले २ घर जोडेका थिए, जुन आजको मूल्यमा करिब ९ करोड पर्ने उनको भनाइ छ । 

अहिले पनि बजारमा ८० लाखको पोर्टफोलियोबाट वार्षिक ८ लाख जति लाभांश बुझ्ने गरेको उनको दाबी छ । 

सेयर बजारबाट करोडपति बनेका उनले आफ्ना ब्रोकर रामचन्द्र भट्टराईप्रति सदैव कृतज्ञ हुने बताउँछन् ।

नेप्से इण्डेक्स बढेका बेला बेच्न सकेर नै आफूले कमाएको बताउने पोखरेल सेयर किन्दा वा बेच्दा अलिकति पनि डर नमानी कारोबार गर्ने गरेको बताउँछन् । ऋण सबै चुक्ता भइसकेको र इण्डेक्स ५ सय नै आए पनि कुनै चिन्ता नभएको उल्लेख गर्दै उनले बिजशालासँग भने–‘आत्तिएर डराउने काम छैन र आत्तिनेले सेयर किन्ने काम छैन ।’

कुनै बेला आरबीसीएल किन्दा उनका साथीहरु अचम्मित हुन्थे, तर ७ वर्षपछि १९ हजारसम्म बेच्दा यसैको मद्धतबाट उनी सेयरबाट करोडपति बने ।  

‘नेपालमा सेयर बजारमा जस्तो अन्य ठाउँमा कमाइ नभएको भन्दै घुस वा अनैतिक काम गरे मात्र पैसा कमाउन सकिन्छ।’ पोखरेलले भने–‘सेयर मार्केटमा घाटा पनि आफ्नै, नाफा पनि आफ्नै । दुश्मनी पनि नकमाइने र दुष्मन पनि नहुने अरु व्यवसायमा झैं । तर सेयरबाट कमाउन धैर्यता हुन आवश्यक छ ।’

सेयर किन्दा जहिले नाफा मात्र नहुने, बरु अलिकति घाटा भए उक्त सेयर बेच्ने गरेको पोखरेलले बीओकेएल किन्दा घाटा भई अन्य कम्पनीमा लगानी गरेको सम्झिए । 

सेयरमा लगानी गर्दा अरुले कमाएको देखेर आउनभन्दा आफ्नो पेशा र प्रोफसनलाई निरन्तरता दिन उनले सुझाए । बचत रकम मात्र लगानी गरे भविष्य उज्वल हुने उनको धारणा छ । 

मार्केट घटबढ भइरहने नियमित प्रक्रिया भएकाले नहडबडाई, ऋण नलिई लगानी गर्न उनले सल्लाह दिए ।

धैर्यधारण, सूचना/जानकारी र भाग्यलाई नै सेयरबाट आफू करोडपति भएको सक्सेस मन्त्रका रुपमा लिने गरेका पोखरेल सम्पत्ति भएकोमा आफूलाई कुनै घमण्ड नभएको, बरु सामान्य जीवनमै रम्ने गरेको भन्दै थोरै फाटेको जुत्ता देखाउँदै भने । 

आफ्ना २ छोराछोरीलाई गुणस्तरी शिक्षा दिदै घरगाडी जोड्न भ्याइसकेका पोखरेलले आत्मविश्वासकै मद्धतबाट सेयरबाट सफलता हासिल गरेका देखिन्छ ।

पोखरेलको भनाईमा अहिले बजार प्रवेश गर्ने सही समय हो । अहिले बजार प्रवेश गर्नेले ५ वर्षपछि ५ गुणासम्म रिटर्न सहजै पाउने उनको ठोकुवा छ।