काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै अमेरिका–चीनबीच व्यापार वार्ता हुन सक्ने संकेत गरेपछि दुवै देशको व्यापार सम्बन्धमा राम्रो हुने आँकलनसहित एसियाली मुलुकहरुको स्टक मार्केटमा बुधबार बिहानैदेखि उछाल आएको छ । 

हङकङको ह्याङ सेङ (एचआईसी) मार्केट खुल्ना साथ २.६ प्रतिशतले बढेको छ भने सांघाई कम्पोजिट इन्डेक्स (एसएचसीओएमए) १.९ प्रतिशत उकालो लागेको गरेको छ । 

त्यस्तै टोकियोको निक्केई (एन२२५) १.७ प्रतिशत बढेको छ भने दक्षिण कोरियाको शेयर बजार परिसूचक १ प्रतिशतले बढेको छ । 

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँगको कुराकानीमा अमेरिका र चीनबीच वार्ता बुधबारबाट सुरु हुन सक्ने बताएका थिए। तर समीक्षकहरुले एसियाली सेयर बजारको यो बढोत्तरी स्थायी हुन नसक्ने र यसका लागि अमेरिका–चीन व्यापार वार्तामा ठोस प्रगति हुन आवश्यक रहेको विश्लेषण गरेका छन्। 

यसअघि ट्रम्पले ट्विट गर्दै ‘चीनका राष्ट्रपति सी जिन पिङसँग निकै राम्रो कुराकानी भएको र आफूहरुबीच यो महिनाको अन्त्यमा जापानमा हुन लागेको जी२० सम्मेलनमा विस्तार बैठक हुने’ जानकारी गराएका थिए । – सीएनएन मनीबाट