काठमाण्डौ । सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका छन् ।
 
कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाई सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिरहेका हुन् । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलाइन्सलगायतले आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाउनका लागि स्वास्थ्य प्रोटोकललगायत मापदण्डको अभ्यासलाई निरन्तरता दिइरहेका छन्।
 
बुद्ध र यतीले दुई महिनाअघि देखि कोभिड महामारीबाट कसरी सुरक्षित उडान गर्ने भनेर कर्मचारी तया यात्रुका लागि अभ्यास उडान ‘डेमो’ उडान गर्दै आएका छन् । सातामा दुई पटकसम्म अभ्यास उडान गरिँदै आएको कम्पनीले जनाएका छन् । हवाई यात्रा गर्नेले अनिवार्य मास्क, फेससिल्ड, सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । मास्क र सेनिटाइजर कम्पनीले उपलब्ध गराउनेछ भने फेससिल्डको कम्पनीले रकम लिनेछ ।
 
वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले हवाई सेवा कम्पनी आवश्यक स्वास्थ्य मापदण्डका साथ सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको बताउनुभयो । वायुसेवा कम्पनीले प्रोटोकल बनाएको र एयरलाइन्सका कर्मचारी तथा यात्रुले प्रभावकारी रुपमा पालना गरेको खण्डमा महामारीको जोखिम कम हुने उहाँको भनाइ छ ।
 
स्वास्थ्य सतर्कता अपनाएर सुरक्षित उडान सेवा दिन वायुसेवा कम्पनी पनि तयारी अवस्थामा छन् । उनीहरुले आफ्ना कर्मचारी तथा यात्रुलाई महामारीसँग जुधेर कसरी सुरक्षित हवाई यात्रा गर्ने भन्नेबारे अभ्यास उडान पनि गरिसकेका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोभिड महामारीबाट थलिएको हवाई क्षेत्रलाई चलायमान बनाउन आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा शुरु गर्न कम्पनीले तयारी गरिसकेको बताउनुभयो ।
 
लामो समयपछि उडान खोल्ने सरकारको निर्णयले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको भन्दै उहाँले आवश्यक सुरक्षा मापदण्डका साथ सेवा पुनःसञ्चालन गरिने उल्लेख गर्नुभयो । प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, “सुरक्षा प्रोटोकल सबैले बनाएका छौँ, नियामक निकायको एकीकृत स्वास्थ्य मापदण्ड र योजना अनुरुप आन्तरिक वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्छौ, यात्रुको सुरक्षा र सहुलियतलाई पनि प्राथमिकतामा राखेका छौँ ।”
 
बुद्ध एयरले सामान्य अवस्थामा दैनिक छ हजारसम्म यात्रु व्यवस्थापन गरेको  थियो । कम्पनीले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले सुरक्षित आन्तरिक उडानका सबैखालले तयारी गरिएको जनाएको छ । कर्मचारी तथा यात्रुलाई सुरक्षित तुल्याउन कम्पनी पूर्ण तयारी अवस्थामा रहेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले बताउनुभयो ।
 
यती एरलाइन्स र यतीकै भगिनी संस्था तारा एरलाइन्सका सिइओका रुपमा हालै जिम्मेवारी सम्हाल्नुभएका रिमालले कोभिड सङ्क्रमणमुक्त भएपछि कम्पनीको व्यावसायिक योजना सार्वजनिक गरिने बताउनुभयो । “हामीले दुई महिनादेखि उडान तयारी गरेका छौँ, हाम्रो सेफ्टी डिपार्टले प्रोटोकल बनाएको छ, स्वास्थ्य सुरक्षा मापदण्ड अपनएका छौँ, त्यसैले यात्रुलाई हाम्रो आग्रह छ ढुक्कले जहाज चढ्नुस”, सिइओ रिमालले भन्नुभयो ।
 
कम्पनीले सबै विमानस्थलमा हुने उडान सेवामा स्वास्थ्य मापदण्ड पालना गराएको छ । सातामा दुई दिन अभ्यास उडान गर्दै आएको छ । यात्रुको तापक्रम नाप्ने, सेनिटाइजर उपयोग गर्ने तथा सामाजिक दूरी कायम गरी मास्क तथा फेसशिल्डको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
 
यतिले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ । कम्पनीले सामान्य अवस्थामा दैनिक ७० उडान गथ्र्यो भने आगामी उडान दैनिक १५ देखि २० सम्म हुने आँकलन गरेको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले कोरोनाका बीच सुरक्षित उडानका लागि कम्पनीले स्वास्थ्य मापदण्ड बनाएर अभ्यास उडान गरिरहेको जानकारी दिनुभयो । यो कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले पनि सुरक्षा प्रोटोकल बनाएर आन्तरिक उडानको तयारी गरेका छन् ।
 
विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।
 
बन्दाबन्दीपछि झण्डै पाँच महिनापछि मुलुकको उड्डयन क्षेत्र पुनः चलायमा हुँदैछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले देशभर लागू गरेको बन्दाबन्दीका कारण मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान ठप्प भए । गत चैत ९ गतेदेखि पछिल्लो पटक साउन ६ गतेसम्म १२० दिन व्यावसायिक उडान भएनन् । तथापि, बन्दाबन्दीको अवधिमा अन्तरराष्ट्रिय तथा आन्तरिक चार्टर्ड उडान भए । 
 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ दैनिक १६ वटासम्म तथा आन्तरिकतर्फ पनि कुनै दिन १४ देखि १६ सम्म उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि अन्तरराष्ट्रियतर्फ दैनिक उल्लेख्य सङ्ख्यामा उडान भए । गत जेठ २३ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्धारका लागि २०० भन्दा बढी चार्टर्ड उडानमार्फत ३४ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् ।
-rss