तुलसीपुर । दाङको नारायणपुरस्थित तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक, कर्मचारी र खातावाल गरी ५६ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले दुई महीना अनुसन्धान गरेर प्राप्त प्रमाणलाई शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएपछि कसुरदारविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको हो ।

रु १७ करोड ९९ लाख ९० हजार हिनामिनामा संलग्नको ठूलो जालो रहेको प्रहरीले प्रमाण फेला पारेको छ । बैंक सञ्चालक समितिका छ जना समेतको संलग्नता देखिएको प्रहरीको भनाइ छ । वेष्टर्न बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ खिमबहादुर डिसीसहित सात जना कर्मचारी पनि रकम हिनामिनामा संलग्न देखिएको भन्दै मुद्दा दायर भएको छ । रकम हिनामिनामा अन्य ४३ जना खातावालाकोसमेत संलग्नता देखिएपछि उनीहरु विरुद्ध पनि मुद्दा दायर भएको छ । रकम अपचलनमा दोषी नरहेको भन्दै भदौ २७ गते पक्राउ परेका सूचना प्रविधि अधिकृत विनोद डिसी भने आज छुट्नुभएको छ ।

त्यसैयरी यसअघि निर्दोष देखिएर छुटेका वसन्त बुढाथोकी फेरि अनुसन्धानमा तानिएका थिए । बैंकका शाखा प्रमुख समीर बुढाथोकीसहित तीन जना कर्मचारी र आठ जना खातावाल व्यक्ति प्रहरी हिरासतमा छन् । अन्य ४५ जना पक्राउ परेका छैनन् । उनीहरुलाई अब म्यादी पक्राउ पूर्जी जारी हुने छ ।

वेष्टर्न बैंकको शाखा नारायणपुरले रु दुई लाखसम्म मात्रै लोन दिन पाउने अधिकार भएको तर शाखाबाट रु १७ करोड ९९ लाख ९० हजार बाहिरिएपछि रकम हिनामिनाको रहस्य खुलेको हो । वेष्टर्न बैंक साउन अन्तिम साता देबः विकास बैंकमा गाभिएलगत्तै घटना बाहिर आएको थियो ।