काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा आफ्नो १६ औं शाखारहित बैंकिङ्ग सेवा साउन १८ गतेबाट संचालनमा ल्याएको छ । 

बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुकनारायण मल्लको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ । सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले रोविन श्रेष्ठलाई नियुक्त गरेको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोवारका लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम)को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

यो बैंक हाल मुलुकभर २३५ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रु १७६ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १२० अर्ब र कुल निक्षेप करिब रु. १४९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।