काठमाण्डौ । यदि तपाईं आफ्नो करिअरलाई लिएर चिन्तित हुन्नुहुन्छ र जागिर खाने या व्यापार गर्ने भनेर अलमलिरहनुभएको छ भने तपाईंको यो अप्ठ्यारोमा हामी सहजीकरण गर्न सक्छौ । यस्तो द्विविधाको अवस्थामा सबैभन्दा पहिला आफूभित्रको सानो वा ठूलो क्षमताको आँकलन गर्नु आवश्यक हुन्छ । तपाईभित्र यस्ता साना–साना क्षमताहरु धेरै हुनसक्छन्, जसको आँकलन गरी तपाईंले आफ्नो द्विविधाको समस्या सहजै समाधान गर्न सक्नुहुन्छ । आउनुहोस् हामी तपाईंलाई बताउनेछौ तपाईभित्रको यस्ता क्षमताहरु, जसले संकेत गर्छ कि तपाई जागिरे होइन, विजिनेस पर्सन बन्नुपर्छ । यस्तो खुबी तपाईंलाई सफल विजिनेशम्यान बन्न पनि सहायक हुनसक्छ । आउनुहोस् जानौं यस्ता केही खुबीहरुको बिषयमा । 

यदि तपाई चिन्तन गर्नुहुन्छ भने.....
सफल व्यवसायी बन्नसक्ने व्यक्ति चिन्तन गर्न कहिल्यै छाड्दैन । यस्ता व्यक्ति सधैं केही न केही नयाँ सोचिरहेकै हुन्छ । यदि तपाई पनि हरदम चिन्ता गरिरहनुहुन्छ, गतिशील भइरहनुहुन्छ र केही नयाँ गर्न चाहनुहुन्छ भने आफ्नो विचारलाई गति दिनुहोस् । मान्नुहोस् कि, यो क्षमताले तपाईंलाई एक विजिनेश सुरु गर्ने संकेत दिइरहेको छ । 

विजिनेश अवधारणालाई माया गर्नुहुन्छ भने.....
यदि तपाईं कुनै विजिनेश अवधारणालाई बढी माया गर्नुहुन्छ र तपाईंलाई लाग्छ कि त्यो व्यवसायिक अवधारणा तपाईंकै लागि बनेको हो भने तपाईंले सबै काम छाडेर यही अवधारणलाई सफल बनाउन जुटिहाल्नुपर्छ । तपाईंको यो माया र यो आकर्षणले तपाईंलाई विजिनेश सुरु गर्ने संकेत दिइरहेको हो । केही अति आवश्यक पक्ष तथा बिषयहरुको अध्ययन गरी तपाईंले आफ्नो विजिनेश सुरु गर्नु हितकर हुन्छ । 

जागिरबाट दिक्क हुनुहुन्छ भने.....
यदि तपाईं हरेक दिन बिहान उठ्नु, अफिस जानु, ८ घण्टा काम गरेर साँझ घर फर्किने दैनिकीबाट दिक्क हुनुहुन्छ र अर्को कुनै वैकल्पिक जागिर खोजिरहनुभएको छ, तर त्यसमा समेत तपाईंलाई खासै मजा आइरहेको छैन भने सोच्नुहोस् तपाईभित्र विजिनेशप्रति आकर्षण बढिरहेको छ । यसको अर्थ हो तपाईं आफ्नो केही आफैं सिर्जना गर्न चाहनुहुन्छ, तपाई केही फरक गर्न चाहिरहनुभएको छ । यसले स्पष्ट संकेत गर्छ कि अब तपाईंले ढिलो नगरी विजिनेशको बिषयमा सोच्न आवश्यक छ । 

यदि अर्गनाइजेसनल क्षमता छ भने......
विजिनेश संचालन गर्नका लागि अर्गनाइजेसनल क्षमता हुन अति आवश्यक हुन्छ । विजिनेश सुरु गरेपछि अलग–अलग कामका लागि फरक–फरक विज्ञहरु राख्न सक्नुहुन्छ, त्यो पछिको कुरा भयो । तर सुरुमा आफूले पूँजी व्यवस्था गर्नुपर्ने हुन्छ, आफ्नो अवधारणा र दृढ इच्छाशक्तिलाई डगमगिन दिनुहुन्न । तपाईंले कार्यालय व्यवस्थापन गर्नुपर्ने हुन्छ । आवश्यक कर्मचारीहरुको नियुक्ति गर्नुपर्ने हुन्छ । यी सबै काम त्यसले मात्र गर्न सक्छ, जोसँग अर्गनाइजेसनल क्षमता हुन्छ । 

यदि तपाईंको भिजनले महत्व पाइरहेको छैन भने.......
जागिरको सिलसिलामा तपाईं निकै उत्साहित भएर आफ्ना आइडिया दिनुहुन्छ । अरुभन्दा अलग काम गर्न खोज्नुहुन्छ । तर तपाईंको आइडियालाई कुनै भ्यालू दिइन्न, यस्तो अवस्थामा तपाई हैरानीमा पर्नुको साटो आफूले आफूलाई प्रमाणित गर्ने कोशिश थाल्नुहोस् र यसका लागि आफ्नो व्यवसाय सुरु गर्नुहोस् । तपाईंले त्यही विजिनेश समेत गर्न सक्नुहुन्छ,  जुन काम जागिरको सिलसिलामा गर्नु भएको थियो । यस्तो विजिनेशमा तपाईंको अनुभवले निकै ठूलो काम गर्न सक्छ।

तपाईंको जागिरमा धेरै काम छैन भने.......
विश्वभरमै विकास भइरहेको टेक्नोलोजी र मन्दीका कारण हरेक क्षेत्रमा जागिर र त्यसको समय कम हुँदै गइरहेको छ । यदि तपाईंको सामुन्ने पनि यस्तै अवस्था छ भने तपाईंले जागिरको साटो आफ्नै विजिनेश सुरु गर्नुपर्ने हुन्छ । आफ्नै व्यवसाय गर्ने बिषयमा गम्भीर भएर योजना बनाउनुपर्छ। 

अरुका लागि काम गर्न मन मान्दैन भने.....
यदि तपाईंको मन अरु व्यक्तिका लागि काम गर्दा रमाउँदैन र राम्रो लाग्दैन भने तपाईंले आफूले केही गर्नुपर्छ भन्ने बिषयमा सोच्न थाल्नुपर्छ । अरुको निर्देशन मान्न हिचकिचाहट हुन्छ, कसैले दबाएको वा हस्तक्षेप गरेको मन पर्दैन भने तुरुन्तै योजना बनाएर आफूले इच्छाएको विजिनेश सुरु गर्नुहोस् ।