काठमाण्डौ । तपाईसँग विजिनेश वा उद्योग(उत्पादन)को कुनै नयाँ आइडिया छ ? नयाँ आइडिया भए पनि पूँजीको अभावले त्यसलाई कार्यान्वयनमा ल्याउन सकिरहनुुभएको छैन भने तपाईका लागि बिना धितो न्यूनतम १ करोडसम्म लगानी गरिदिने कम्पनी पनि नेपालमै छ भन्ने सायद थाहा छैन होला । केही महिनाअघि स्थापना भएको इमर्जिङ नेपाल, त्यस्तो कम्पनी हो, जसलाई तपाईले आफ्नो अवधारणाको बिषयमा कन्भिन्स गराउन सक्नुुभयो र तपाईको आइडिया बिल्कुलै नौलो, संभावनायुक्त लाग्यो भने तपाईले लगानीको कुनै चिन्ता गर्नुपर्दैन । 

काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा कार्यालय स्थापना गरी यो कम्पनीले विजिनेशको नयाँ आइडिया कुरिरहेको छ । लगानीको अवधारणा पेश गर्न पहिलो चरणमा गरिएको आह्वानमा कम्पनीमा १५ वटा प्रस्ताव परेका थिए । पहिलो चरणमा परेका १५ प्रस्तावमा पनि ५ वटा छनौट गरिएको थियो । दोश्रो चरणका लागि छनौट भएका ५ वटा प्रस्तावमध्ये बिल्कुल नौलो र संभावना बोकेको प्रस्तावको रुपमा एउटा मात्र छनौट भएको इमर्जिङ नेपालका सीइओ डा. बिनोद आत्रेयले जानकारी दिए । 

‘हामीले सोंचेजस्तो र भनेजस्तो प्रस्ताव नै आएनन् ।’ उनले बिजशालासँग भने–‘सबै प्रस्ताव परम्परागत शैलीका भए ।’ तर छोटो समयमै युवाहरुले चासो दिएर १५ वटा प्रस्ताव पेश गर्नुलाई उनी सकारात्मक मान्छन् । 

‘हामीले इनोभेटिभ आइडियाले भरिपूर्ण प्रस्ताव खोजेका हौं ।’ उनले भने–‘पोखरा, तराईका विभिन्न जिल्ला लगायतबाट प्रस्ताव आए, तर काम लाग्ने कुनै भएनन् ।’ उनका अनुसार तराईका जिल्लाबाट आँपको प्रोसेसिङ उद्योग स्थापनाको प्रस्ताव आएको थियो, पोखराबाट एकीकृत डेरी संचालन सम्बन्धी प्रस्ताव आएको थियो । काठमाण्डौ आसपासका युवाहरुले भने अनलाइन सपिङ संचालन लगायतको प्रस्ताव पेश गरेका थिए । तर, यी कुनै पनि प्रस्ताव नौला होइनन् ।

‘कम्पनीले यस्तो प्रस्ताव खोजिरहेको छ, जसबाट अर्थतन्त्रमै आमूल परिवर्तन गर्ने बाटो देख्न सकियोस् ।’ सीइओ आत्रेयले भने–‘हामी अझै पनि त्यस्ता प्रस्तावको प्रतिक्षामा छौ ।’ 

कति पाइन्छ सहयोग ?
आत्रेयका अनुसार नौलो र संभावनाले भरिपूर्ण प्रस्तावलाई न्यूनतम १ करोडदेखि माथि आवश्यकताको आधारमा जति करोड पनि दिन सक्ने ल्याकत कम्पनीमा छ । देशका मूर्धन्य विजिनेशम्यान र उद्योगीहरुले मिलेर स्थापना गरेको यो कम्पनीले स्टार्टअपहरुलाई विजिनेश तथा उद्योगधन्दामा ल्याएर देशको अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्य लिएको छ । 

‘हामीलाई प्रस्ताव राम्रो लाग्यो भने न्यूनतम १ करोडदेखि अधिकतम जति पनि दिन सक्छौ ।’ आत्रेयले भने–‘अझै पनि हामी युवाहरुलाई नयाँ प्रस्ताव पठाउन आह्वान गर्छौ ।’ 

कसरी पठाउने प्रस्ताव ?
इमर्जिङ नेपालको काठमाण्डौका थापाथलीस्थित ट्रेड टावरमा रहेको कार्यालयमा सोझै गएर प्रस्ताव पेश गर्न सकिन्छ । तत्काल काठमाण्डौ आउन सकिँदैन भने आफ्नो प्रस्तावको अवधारणासहित इमेल समेत गर्न सकिन्छ । पहिलो चरणमा तपाईले पेश गरेको प्रस्ताव मन पर्यो भने दोश्रो चरणका लागि कम्पनीले छलफलका लागि बोलाउनेछ । त्यसपछि तपाईले कम्पनीमा रहेका विज्ञहरुलाई आफ्नो अवधारणा, त्यसले ल्याउनसक्ने परिवर्तन र त्यसबाट हुनसक्ने विजिनेश र त्यसको स्थायीत्वको बिषयमा बुुझाउन सक्नुपर्छ । दोश्रो चरणमा पनि तपाईको प्रस्ताव पारित भयो भने तेश्रो चरणमा प्रवेश गर्नेछ । यो चरणमा विज्ञहरुले तपाईको प्रस्तावको संभावना प्रत्येक कोणहरु केलाउनेछन् । तपाईको प्रस्ताव सबै ढंगले उचित लाग्यो भने उनीहरुले चाहिए जति लगानी उपलब्ध गराउँछन् । 

इमर्जिङ नेपालमा प्रस्ताव पठाउन वा यसको बिषयमा थप कुरा बुुझ्नका लागि तपाईले निम्न अनुसारको फोन वा इमेलमा सम्पर्क गर्न सक्नुुहुन्छ :
सम्पर्क नम्बर : ०१५१११०१७
इमेल ठेगाना : mail@emergingnep.com
पूरा ठेगाना : इमर्जिङ नेपाल लिमीटेड, हेल्प डेस्क, छैठो तल्ला, टेड टावर, थापाथली, काठमाण्डौ 
इमर्जिङ नेपाल लिमीटेडको आधिकारिक वेबसाइट :
http://www.emergingnep.com